महजस्तै सपना सजाउँदै फेदीखोला गाउँपालिका मौरी पकेट क्षेत्र सिँगार्दै युवादेखि पूर्व राष्ट्रसेवक

असफल गौतम
२३ साउन, स्याङ्जा । राष्ट्रको राष्ट्रिय फल अर्थात् रैथाने फलफूल सुन्तलाका लागि ख्याति प्राप्त गण्डकी प्रदेशको स्याङ्जा जिल्ला कृषि कर्मका हिसाबले मात्र चिरपरिचित छ ।
नेपालको कर्मचारीतन्त्रमा निजामती क्षेत्रमा वर्चश्व कायम राख्दै आएको स्याङ्जाको विशिष्ट पहिचान पछिल्लो २०७८/७९ को लोकसेवाबाट निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस भएको रेकर्ड समाचार तयार पार्दासम्म अन्य जिल्लाले ब्रेक गर्न सकिरहेका छैनन् । त्यही जिल्लासँग जोडिएको उत्तर क्षेत्रमा अवस्थित पालिका हो, फेदीखोला गाउँपालिका ।
नेपाल सरकारले २०७३ सालमा ७४४ स्थानीय तह लागू गर्दा साविकका बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिलाई समेटेर ५६.७३ वर्ग किलोमिटर क्षेत्रफललाई पालिका निर्धारण गरी पाँच वडामा विभाजित गरेको छ ।
पोखरा महानगरपालिकासँग सीमाना जोडिएको र सिद्धार्थ राजमार्गद्वारा समेटिएको यो पालिकालाई स्याङ्जा जिल्लाको प्रवेशद्वारकारूपमा समेत हेरिन्छ । यसैक्रममा पछिल्लो समय महजस्तै स्वादिलो समृद्धि, सुशासन र सुव्यवस्थाको सपना सजाउँदै फेदीखोला गाउँपालिकाले अगाडि बढाएको मौरी पकेट क्षेत्रलाई विदेश पुगेर फर्केका युवादेखि पूर्व राष्ट्रसेवकसम्मले सुम्सुम्याइरहेका देखिन्छन् ।
वनवासबाट जसरी फर्केका गंगाधर
‘समृद्ध फेदीखोला, सुखी फेदीखोलावासी’ उद्घोषका साथ अगाडि बढेको यही भूमिमा पौरखको पसिनामा घरदेशको सपना सजाउनेमध्येका एक हुन्, फेदीखोला मिरुड़ाँडाका गंगाधर पौडेल । पौडेल उमेरले २५ वर्षको हुँदाहुँदै रोजीरोटीका लागि परदेश हानिए । दुबई र कतारजस्ता मुलुकमा १४ वर्ष पसिना बगाए तापनि मुहारमा खुसी छाउन सकेन ।
अयोध्यापुरीका राजा दशरथ र रानी कौशल्याका ज्येष्ठ पुत्र रामचन्द्रलाई राजपाठ सुम्पने बेला कथै बदलिदिने रामायण र महाभारत कथाजस्तो दिनचर्या त पौडेलको स्वदेश फर्केपछि मात्र भयो ।
उनले आफ्नै जन्मभूमिको माटो सुुम्सुम्याउन थाले । आफ्नो बाहेक दुई रोपनी जग्गा भाडामा लिएर झण्डै सात रोपनी क्षेत्रफलमा तरकारी खेती, कुखुरापालन र मौरीपालनसहित आत्मनिर्भर बन्ने मार्ग रोजे ।
विगत पाँच वर्षदेखि तरकारी र पोल्ट्री व्यवसाय गर्दै आएका पौडेलका आमा, एक श्रीमती, दुई छोरा सवीन र समीर, एक बुहारीसहितको सिङ्गो परिवार कृषि कर्ममा क्रियाशील छ ।
गंगाधरको साहस र आँटलाई ६९ वर्षीय आमा लेली पौडेललेसमेत उत्साह थपिरहेकी छन् । जिन्दगीको पाठशालाबाट आर्जित अनुभवको ज्ञान र सीपबाटै लेलीले तरकारीको टनेल सजाइरहन्छिन् । बुढ्यौली उमेरकी आमाको उत्साहले पौडेलका तीनै पुस्तालाई आफ्नो कर्ममा लाग्न प्रेरणा थपिरहन्छ ।
लेलीका नाति सवीन पौडेल बुहारी आयुषा ढकाल मात्र होइन १२ कक्षामा पढ्दै गरेका कान्छा नाति समीर पनि होस्टेमा हैँसे गर्दै बुबालाई हौसला थपिरहेका देखिन्छन् । वार्षिक सात लाख आम्दानी गर्दै आएका पौडेलको परिवारमा हाल २६ घारमा रहेको मौरीपालन व्यवसायको आर्जनसमेत जोडिँदै छ ।
मौरीका लागि पालिकाको अनुदान र युवा स्वरोजगारबाट एक हजार चल्ला लिएर कृषि कर्ममै आफ्नो भाग्य र भविष्य देख्न थालेका पौडेल भन्छन् हाम्रो भूमि उब्जाऊ भएकाले सबै मिलेर सिङ्गो पालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ ।
पोल्ट्री व्यवसायमा असली किसान मर्कामा परेको आवाज चर्को रूपमा उठ्न नसकेकोमा चिन्ता व्यक्त गदै पौडेल थप्छन्– दाना महङ्गो भएकाले किसान मर्कामा छन्, बजारमा उपभोक्ता पनि महङ्गो मूल्य तिर्न विवश छन् तर फाइदा खाने अनुहार अरू छन् यो अवस्थालाई अन्त्य गर्न आवश्यक छ ।’
असली किसान मर्ने र बिचौलीयाले ‘तर’ मार्ने परम्परा अन्त्यका लागि पालिकाले अब नयाँ रणनीति बनाएर अगाडि बढ्न ढिला गर्न हुँदैन ।
कोरोनाले देखाएको राजेनको बाटो
फेदीखोला–२, लामीस्वाँराका राजेन गुरुङले जीवनको महत्त्वपूर्ण समय १६ वर्ष मलेसियामा बिताए । अझै कति समय बिताउने ठेगान थिएन, कोरोना भाइरस पदपर्दशक भएर आइपुग्यो । उनी नेपाल फर्के ।
नेपाल फर्केसँगै आफ्नै माटो सुम्सुम्याउन लागे, उनी विगत पाँच वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । उनीसहित २५ जनाको परोपकार कृषि समूहले तरकारीजन्य खेती गर्दै आइरहेको छ । समूहलाई पालिकाबाट प्राविधिक सहयोगका साथै कृषि औजारमा अनुदान र कृषि ज्ञान केन्द्र स्याङ्जाबाटसमेत सहयोग प्राप्त छ ।
फेदीखोला सेरेना मौरीपालन समूहका सदस्यसमेत रहेका गुरुङले पुराना दुई र पालिकाको अनुदानबाट प्राप्त २५ गरी २७ घारमा मौरी पालन गर्दै आइरहेका छन् । यसरी कोरोनाले घरदेशको बाटो देखाएका राजेन आज पालिकाको नमूना कृषक बन्ने सपना बोकेर हिँडिरहेका छन् ।
कुमार–सन्तोषीको सन्तोष
फेदीखोला–४, कोटका कुमार क्षत्रीको दिनचर्या हिजो आज कृषिमै बितिरहेको छ । झण्डै दशक वैदेशिक रोजगारीमा रहेका उनको आम्दानी राम्रै थियो । दाम्पत्य जीवनमा प्रवेश गरेसँगै घरदेशको मायाले तानिएका कुमारलाई २०६८ सालबाट भुल्ने बाटो त्यही कृषि कर्म बन्न पुग्यो ।
दशक अगाडिदेखि कृषि व्यवसाय शुरु गरेका कुमार हाल फेदीखोला सेरेना मौरीपालक कृषक समूहमा आवद्ध भएर मौरीपालन व्यवसायमासमेत लागेका छन् ।
गाउँपालिका युवा उद्यम कार्यक्रमबाटसमेत लाभान्वित कुमार र सन्तोषीको जोडी यतिबेला व्यावसायिक कृषि कर्ममा आवद्ध छन् । बेमौसमी तरकारी खेतीमासमेत संलग्न उनीहरू कुखुरा पालन, बंगुर पालनसहित मौरीपालनमा जुटेका छन् । हाल २६ घारबाट मौरीपालनलाई अगाडि बढाएकामा कुमार भविष्यमा एक सय घारको लक्ष्य लिएर अगाडि बढेका छन् ।
मौरीसँग पूर्व राष्ट्रसेवक उजुरबहादुर
सेवानिवृत्त जीवन बिताउन कष्टकर हुँदै आएका सन्दर्भ पर्याप्त देखिन्छन् । यस्तो अवस्थामा चामलमा बियाँ फेला परे जस्ता नमूना पात्र फेला पर्दछन्। यस्तैमध्येका एक हुन्, फेदीखोला–२, बहाटारीका उजुरबहादुर के.सी. ।
जसले जीवनको उर्जाशील समय नेपाल सरकारको प्रहरी सेवामा झण्डै २३ वर्ष बिताए । उजुरबहादुरका हात यतिबेला भने आफ्नै घरआँगनमा मौरी सुम्सुम्याउँदै छन् । के.सी.ले जननी र जन्मभूमिको सेवामात्र गरेका छैनन् आयआर्जनको बाटो पनि फराकिलो बनाएका छन् ।
वडासदस्य भएर जनताको सेवा गरिसकेका उजुरबहादुर यतिबेला फेदीखोला सेरेना मौरीपालक कृषक समूहका अध्यक्षसमेत हुन् । २०५८ सालमा सेवाबाट अवकाश लिएका उजुरबहादुर २०६० सालबाट मौरीपालन शुरु गरेर यतिबेला उद्यमी बनिसकेका छन् ।
पारिवारिक सहयोगमा मौरीपालन व्यवसायलाई अगाडि बढाएका उनी कृषि बीमा अभिकर्तासमेत भएर किसानको जोखिम न्यूनीकरणका लागि कृषि बीमा कार्यक्रमको सक्रिय प्रतिनिधित्व गर्दै पनि आएका छन् ।
सामान्य रूपमा अगाडि बढेको उनको मौरीपालनले व्यावसायिक रूप धारण गरिसकेको छ । हाल २७ घारमा मौरीपालन गर्दै आएका केसीले वार्षिक पाँचसय के.जी. मह उत्पादन गरी सात लाख ५० हजार आम्दानी गर्ने लक्ष्य लिएका छन् ।
सफल र असल कृषक बन्ने सपना सजाएर अगाडि बढेका केसी आफ्नो कर्ममा मात्र सीमित छैनन् । छहरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका उनी महेन्द्र जनसहयोग आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र कृषि उपज बजार व्यवस्थापन सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पनि हुन् ।
शैक्षिक नेतृत्व, सामुदायिक नेतृत्व र सामाजिक दायित्वसहित स्वरोजगारमूलक जीवनयापन गरिरहेका उजुरबहादुर के.सी.ले देखाएको बाटो हिँड्न बिर्सन हुँदैन । रोजगारीका बाटा भएनन्, राज्यमा गरेर खाने अवस्था भएर भन्नेहरूले आफ्नै पाखुरामा रहेको पौरखमा गौरव गर्न ढिला भएको हो कि सोच्नुपर्ने भइसकेको छ ।
मुहार फेर्ने सपनामा पराजुलीद्वय
फेदीखोला–१, अलैँचीबारीका भीम पराजुली र ईश्वर पराजुलीसमेत मौरी व्यवसायमा संलग्न छन् । उनीहरूले ६५ घार मौरीसहित व्यवसाय सञ्चालन गरिरहेका छन् ।
मौरीका लागि चरन व्यवस्थापन चुनौतीपूर्ण छ तापनि निरन्तर मेहनत, व्यवस्थापन र लगनको उपज गुणस्तरीय मह तथा मौरीजन्य उत्पादनमा दुई पराजुली बन्धु क्रियाशील छन् ।
गाँउपालिकाले बाख्रापालन, तरकारी खेती, हल गोरु पालन, बाँझो जग्गामा खेती तथा रैथाने बाली कोदो उत्पादनमासमेत अनुदान दिँदै आएको पालिका प्रमुख घनश्याम सुवेदी बताउँछन् ।
युवामा देखिएको जोश, आफ्नै भूमिमा बगाउन खोजिएको श्रम र सीपको कदर गर्दै गाउँपालिकाले मौरीपालनका लागि ७० प्रतिशत अनुदान समेत उपलब्ध गराउँदै आएको वडा नं. ३ का वडाध्यक्ष कृष्णबहादुर रानाभाट बताउँछन् ।
अघिल्ला वर्षमा वडाबाट केही पहल भएकामा यतिखेर पालिकाबाटै वडा नं. १, २ र ४ लाई मौरी पकेट क्षेत्र घोषणा गरेर एक हजार आठ सय घार वितरण गरेर व्यावसायिक मौरीपालनलाई अगाडि बढाइएको र कृषकले वार्षिक आठ-१० लाखसम्मको मह बेचेर आयआर्जन गरिरहेको वडाध्यक्ष रानाभाट बताउँछन् । जसबाट प्रष्ट हुन्छ स्थानीय स्रोत र सीपको सही प्रयोगमार्फत् स्वदेशमै अवसरका ढोका खोल्नका लागि पालिका क्रियाशील छ ।
यी प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूको पद्चाप पछ्याउँदै र अग्रजले देखाएको बाटो समाउँदै हिँड्नेहरूमा रीता खड्का, फेदीखोला–१, खड्का गाउँका खेमबहादुर खड्का, डाँडागाउँकी ज्योति शर्मा, फेदीखोला-१ का वडासदस्य खिमबहादुर कुँवर कृष्ण, फेदीखोला–४, आरुखर्क, घर्तीस्वाराका केशवराज पौडेल, जैसीडाँडाकी कल्पना पौडेल, फेदीखोला-५, बागेठाडाका खड्गबहादुर गुरुङलगायतका थुप्रै फेदीखोलावासी मौरीपालनमा संलग्न छन् ।
महजस्तै मीठो सपना सजाउने गाउँपालिकाको योजनालाई यी कृषकले साथ दिइरहेका छन् । जसबाट आय आर्जनको बाटो खुल्ने मात्र नभएर महबाट अनेक फाइदा सेवाग्राहीलेसमेत लिने अवसर पाइरहेका देखिन्छन् ।
मह एक फाइदा अनेक
खाए पनि ठीक, लाए पनि ठीक हुने आयुर्वेदिक औषधीय गुण भएको बहुउपयोगी वस्तु महलाई अमृत पनि भनिन्छ । मह फरक मौसममा फरक-फरक प्रकृतिका वनस्पतिका फूलबाट तयार हुने भएकाले विश्व बजारमा नै नेपाली महको महत्त्व रहेको पाइन्छ । महको सेवनले स्मरण शक्ति बढ्ने, छालामा चमक ल्याउने, पेट सफा हुने, शरीर फुर्तिलो हुने, चिसो नलाग्ने, शरीरमा रगतको कमी नहुने, हड्डी, नशा, छालालगायत सम्पूर्ण शरीरको सुरक्षामा उपयोगी मानिने आयुर्वेद चिकित्सक बताउँछन् । यस्तै, बालबालिकालाई नियमित मह सेवन गराउँदा राम्रो हुने, हप्तामा दुई–तीनपटक महको प्रयोगद्वारा दाँत माझ्दा दाँतमा चमक आउने, नुहाउँदा निम र मह दुई–तीन थोपा प्रयोग गर्न सके शरीरलाई राम्रो गर्ने जानकारहरू बताउँछन् ।
दुर्घटना न्यूनीकरण अभ्यास
नेपालमै पहिलोपटक कृत्रिम गर्भाधानबाट मौरीको रानु उत्पादन प्रक्रिया सफल भएको अवस्था छ । यसले नेपाली कृषकको मुहारमा खुसी थप्न मात्र थप्दैन, मौरीपालनलाई व्यावसायिक बनाउँदै अगाडि बढाएर आत्मनिर्भर र स्वाभिमानी नेपाली बनाउने मार्ग पनि खुला गर्दछ ।
फेदीखोला गाउँपालिकाले मौरी पकेट क्षेत्र घोषणा गरेर गाउँपालिकालाई मौरीपालनको हब बनाउने अभिलाषा पालिरहेको छ । मौरी चरन बिस्तार योजना अनुसार सूर्यमुखी फूलको बीउ, सितल चिनीका बिरुवा, कल्की फूलका बिरुवासमेत निशुल्क वितरण, मह महोत्सव आयोजना गरेर बिक्री वितरणको अवसर सिर्जना गरेको छ । उजुरबहादुर केसीको अध्यक्षतामा फेदीखोला सेरेना मौरीपालन कृषक समूह स्थापना भएको छ ।
यस्तै, फेदीखोला कृषि वन उद्यम सहकारी संस्थाको पहलमा घार बनाउने तालिम पनि सञ्चालित भइसकेको छ । उक्त सहकारीलाई फेदीखोला गाउँपालिकाको समन्वयमा यस आर्थिक वर्ष एक करोड ५० लाख रकम संघीय सरकारबाट विनियोजन भएकाले काष्ठजन्य फर्निचरसहित अन्य काठका सामग्रीमा गाउँपालिका आत्मनिर्भर बन्ने पालिका प्रमुख सुवेदी बताउँछन् ।
अधिकांश किसान सेराना जातको मौरीपालन गर्दै आएका छन् । अब किसानको व्यावसायिक मौरीपालनसँगै थप सम्भाव्यताको पहिचान र कालान्तरमा हुन सक्ने दुर्घटनासमेतको आँकलन गरेर पालिका अगाडि बढ्न आवश्यक छ ।
पालिकाले आर्थिक समृद्धिका स्रोतमध्ये मौरीपालनलाई एउटा पाटो बनाएको अवस्थामा कुनै समस्या आइलाग्यो भने कसरी अगाडि बढ्ने ? त्यसतर्फ पनि चनाखो हुन आवश्यक छ ।
अघिल्लो वर्ष जुम्लाका आठ पालिकामा अनुमानित आठ हजार बढी सेराना जातका मौरीमा अज्ञात किराको संक्रमणले धेरै कृषकलाई आर्थिक मार प¥यो । वर्षेनी पाँच करोडसम्मको मह बिक्री गर्ने किसानका घरमा आफूलाई खाने महकोसमेत अभाव देखियो ।
पालिकाका गुठीचौर पातारासी, तातोपानी, चन्दननाथलगायतका पालिकामा बढी समस्या देखिएको थियो । चन्दननाथ नगरपालिका–३ जुम्लाका किसान बालकृष्ण उपाध्यायका २५ घारमध्ये १८ घार मौरी एकाएक मरेर सात घार मात्र बाँकी रहेपछि मौरी विकास केन्द्र ललितपुर गोदावरीको मौरी विज्ञ तीर्थकुमार श्रेष्ठको नेतृत्वको टोली जुम्ला पुगेको थियो । टोलीले किसानलाई मौरीमा गोला व्यवस्थापन, सरसफाइ, चरन क्षेत्र व्यवस्थापन र कृत्रिम खाना व्यवस्थापन गर्न सुझाव दिए । जुन समयसम्म उपाध्यायलगायत पातारासी गाउँपालिका–७ का टेकबहादुर बुडालगायतको लगानी सबै गुमिसकेको थियो ।
कामना गरौँ, फेदीखोला गाउँपालिकामा कुनै समस्या नहोला तर समस्या देखापरेपछि निवारणका लागि दौडनु भन्दा सम्भाव्य समस्याका चरको निक्र्यौल गर्दै सचेत रहनु आजको आवश्यकता हो । भोलि कुनै संक्रमण देखिएमा परीक्षणका लागि ल्याबसहितका विशेषज्ञको व्यवस्थातर्फ पनि पालिकाले दूरदृष्टि दिनैपर्छ ।
गाउँपालिका अध्यक्ष सुवेदी पालिकावासीको किसानी कर्मप्रतिको मोह र आजसम्मको जीवनयात्राले सेवाबाट उद्यमसम्म र उद्यमबाट नेतृत्वसम्म भन्ने उदाहरणमात्र प्रस्तुत नगरेको बताउँछन् । उनी थप्छन्- ‘अनुभव, अनुशासन र सामुदायिक प्रतिबद्धतासहित मौरीपालन, वन संरक्षण, कृषि सुधार र बीमा सेवामार्फत् किसान समुदायको सशक्तिकरणमा केन्द्रित पालिकावासीबाट सबैले पाठ सिकेर आफ्नै भूमिलाई आय आर्जनको स्रोत बताउन स्थानीय सरकार लाग्नुपर्छ ।’
आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य
फेदीखोला गाउँपालिका प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले पनि समृद्ध पालिका हो । पालिका भित्रको भालुपहाडलाई जोडेर सञ्चालन गर्न सकिने साहसी पर्यटकीय गन्तव्य पहिचानको सम्भाव्यता अध्ययनमा ढिलो गर्न हुँदैन । साल्मेडाँडा, गोर्खा स्मारक पार्कले बोकेको अपार सम्भावनालाई माटोमा मिसाउन हुँदैन । बडाचौर, रामकोट, सिराञ्चुलीजस्ता पर्यटकीय स्थलले संरक्षणसहितको प्रचारप्रसार खोजिरहेकातर्फ आँखा चिम्लनु हुँदैन ।
पालिकाभित्रका धार्मिक आस्थासँग जोडिएका क्षेत्रको सम्भाव्यता पनि कम छैन । नेपालमा पछिल्लो समय धार्मिक पर्यटकको संख्या बढ्दो छ त्यसलाई हामीले अवसरकारूपमा जिएर पुञ्जीकृत गर्न सक्नुपर्छ । पञ्चासेसँग जोडिएको धार्मिक पर्यटकीय गन्तव्यको चर्चा असम्भव छ । राम्चेदेवी, शिवालय, बौद्धगुम्बा जस्ता धार्मिक स्थलहरूले धार्मिक पर्यटकको प्रवद्र्धन मात्र गर्दैनन्, सँगै रोजगारीका अवसर पनि लिएर आउँछन् । कालाभैरव नुवाकोट, आरुखर्क दरबारलगायतका ऐतिहासिक, पौराणिक, सांस्कृतिक र प्राकृतिक हिसाबले समृद्ध क्षेत्रलाई आय आर्जनसँग जोड्न सकिन्छ ।
पुम्दीकोटसम्म आइपुग्ने धार्मिक पर्यटकलाई कालाभैरव नुवाकोट, साल्मेडाँडा, गोर्खा स्मारक पार्कसम्म ल्याउन सकिने आधारशीला बनिसकेका छन् । विभिन्न रुटमा ट्रेकिङ पदयात्रा सञ्चालन, भाटखोला लोलासरीको चिप्लेटिबाट सनराइज दृश्यावलोकन, भाटखोलाको माछा फार्म अवलोकन, भाटखोलाका असला माछाको स्वाद, गोलघर अवलोकनलगायतका पर्यटन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्न सकिन्छ ।
जसबाट आन्तरिक तथा बाह्य पर्यटकको एक दिन बसाइँ फेदीखोला गाउँपालिका क्षेत्रमा बढाउन सकिन्छ । त्यो हुँदा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्छ, पर्यटन प्रवद्र्धन हुन्छ । स्थानीय उत्पादनको खपत हुन्छ, रोजगारीका ढोका खुल्छन् । पालिकाले अगाडि बढाएको कृषिजन्य उत्पादनको आफ्नै क्षेत्रबाट प्रवद्धन हुन्छ ।
पर्यटक जहिले पनि आफ्नो निश्चित बजेटमा घुम्न निस्केका हुन्छन् । उनीहरूका साथको रकमलाई खर्च गरौँ–गरौँ वातावरण सिर्जना गर्न नसक्नुमा पर्यटकको दोष हुँदैन । आफ्नो क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनात्मक गतिविधि सञ्चालनमा स्थानीय जनसमुदाय र सरकार चुक्नु हुँदैन । पर्यटकले लिएर आएको रकम साथैमा नभएर हाम्रा उत्पादन उपहार पठाउन पाउँदा अर्थतन्त्र चलायमान हुन्छ, आर्थिक उपार्जनको बाटो खुल्छ । जसमध्येको एउटा माध्यम पालिका क्षेत्रको अग्यानिक कृषि उत्पादन बन्न सक्छ ।
केन्द्र सरकारले यसै वर्षबाट “कोदोजन्य परिकारको आहार : खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” नाराका साथ पहिलो कोदो दिवससमेत मनाएको छ । कोदोका परिकारबाट पनि आय आर्जन गर्न सकिन्छ । हिजो दुःखीको खाना भनेर हेपिएको कोदो परिवेशले सुखीको लोकप्रिय भोजन बनाइदिएको छ, जसका लागि सक्षम नेतृत्व र दृढ इच्छाशक्तिका साथ गुरुयोजना निर्माण आजको आवश्यकता हो ।