संगम बचत तथा ऋण सहकारीको १८ औं साधारण सभा

२२ भदौ पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।
सभामा प्रमुख अतिथि ज्येष्ठ शेयर सदस्य दीर्पा थापाले सहकारीले पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप पारदर्शी, व्यवसायिक र सदस्यमुखी सेवामा जोड दिनुपर्नेमा सुझाव दिइन् ।
सभामा संचालक समितिको तर्फबाट सचिव धनराज पुरीले प्रस्तुत सचिवको प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक भोविन्द्र गिरीले प्रस्तुत लेखाप्रतिवेदन तथा अन्य प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरियो ।
संस्थाका कोषाध्यक्ष भरतबहादुर थापाले सञ्चालक समितिकातर्फबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/०८३ का लागि भावी कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरे ।
आर्थिक विवरण अनुसार संस्थाको आर्थिक वर्ष २०८१/०८२ मा शेयर पूँजीतर्फ सात करोड २६ लाख छ हजार छ सय रुपैयाँ कायम भएको छ ।
संस्थाले ऋण लगानीतर्फ ४५ करोड ९० लाख १७ हजार छ सय २० रुपैयाँ ११ पैसा लगानी गरेको जनाएको छ । त्यस्तै, बचत संकलन ४७ करोड ६३ लाख १८ हजार ४९ रुपैयाँ २७ पैसा पुगेको जनाइएको छ । आगामी आर्थिक वर्षमा कारोबार ५१ करोड ९२ लाख रुपैयाँ पुर्याउने लक्ष्य संस्थाले लिएको छ ।
जगेडा कोष तथा अन्यकोष गरी जम्मा चार करोड ३२ लाख ७५ हजार दुई सय ९२ रुपैयाँ ९८ पैसा रहेको सभामा जानकारी गराइयो ।
संस्थाका वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारीले सहकारीको समग्र प्रगति विवरण प्रस्तुत गर्दै सदस्य सेवामा थप सुधार र सहकारीको दिगोपनाका लागि नयाँ कदम चालिने बताए ।
उनले संस्थाले अन्य सहकारीहरूमाझ आफूलाई नमूना सहकारीका रूपमा स्थापित गर्न सफल भएको दाबी गरे । हाल संस्थामा तीन हजार एक सय १० जनाशेयर सदस्य रहेकामा चालु आर्थिक वर्षमा तीन हजार पाँच सय ६७ जना पुर्याउने लक्ष्य लिएको जानकारी दिए ।
सभामा उत्कृष्ट विद्यार्थीलाई विभिन्न पुरस्कार तथा छात्रवृत्तिसमेत प्रदान गरिएको थियो । संगम योग केसी स्मृति पुरस्कारबाट शेयर सदस्य कविता पौडेल पन्थीकी छोरी तथा पोखरा आदर्श सेकेण्डरी स्कुलकी छात्रा आयुष्मा पन्थी र शेयर सदस्य ज्योति गुरुङकी छोरी तथा ज्योतिकुञ्ज सेकेण्डरी स्कुलकी छात्रा सुहानी गुरुङ सम्मानित भए ।
त्यस्तै, संगम सिद्धान्त कुँवर स्मृति छात्रवृत्तिबाट कालिका बहुमुखी क्याम्पस,पोखराका हिमाल वि.क. र सचना सुनार सम्मानित भए ।
सोही समारोह बीच सहकारीमा लामो समयदेखि कार्यरत सहायक कर्मचारी लिलाकुमारी कार्की पौडेललाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो ।
नवराज तिवारीको अध्यक्षतामा सम्पन्न सभामा कार्यक्रम संयोजक बुद्धिमान थापा, डा. नम्रता केसी, लिलाकुमारी कार्की पौडेल, सन्ध्या कुँवर र कुमारी गुरुङलगायतले मन्तव्य राखेका थिए ।