दोस्रो पर्वतीय दौड विश्व पर्यटन दिवस सेप्टेम्बर २७ कै दिन आयोजना हुने

२९ भदौ, पोखरा । दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मिति भन्दा एक साता पछि सरेको छ । अब सो प्रतियोगिता विश्व पर्यटन दिवसकै दिन सेप्टेम्बर २७ अर्थात्असोज ११ गते शनिबार भएको छ ।
जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण आयोजकले उक्त निर्णय गरेको प्रतियोगिता संयोजक दीननाथ बरालले जानकारी दिए ।
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा असोज ४ गते प्रतियोगिताको तयारी गरिएको थियो । मिति सार्नु परेकोमा यसबाट पर्न गएको असुविधाप्रति आयोजकले सम्पूर्ण खेलाडी, खेलकुदकर्मी, उद्योगी व्यवसाय, अतिथि महानुभावसहित शुभेच्छुकमा क्षमायाचना गरेको छ ।
साथै, गत भदौ २३ र २४ गते जेन–जीको आन्दोलनका क्रममा सहादतप्राप्त गर्नेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्मको ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगितामा ७५ धावकले दौडमा भाग लिन अनलाइन फर्म भरेका छन् ।
आयोजकले २५० जनासम्म धावकलाई व्यवस्थापन गर्ने भएको र फस्ट कम फस्ट सर्भिसका आधारमा पुनः फर्म खुला गरेको छ ।
नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स, हिमश्री फुड्स प्रा.लि./केसी ग्रुप, होटल बाराही, सिटिजन्स फर्निचर, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, टान गण्डकी, अटोवेज प्रा.लि., पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, पोखरा भ्रमण वर्ष २०२५, परिचय एड्भरटाइजिङ, होटल संघ पोखरा नेपाल, ईजि ग्रुप, अन्नपूर्ण केवलकारलगायतको सहयोग छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी समन्वय र पोखरा महानगरपालिका २२ वडा कार्यालयको सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा नमस्ते हस्पिटल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन, अफिसियल रेडियोमा रेडियो सफलता जोडिएको छ ।
आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् ।
प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताए ।