जन्मदिनमा खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण

१६ भदौ, पोखरा । समाजसेवी विश्वमोहन गौचनले खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
उनले आफ्नो ८६ औ जन्मदिनका सन्दर्भमा अन्नपूर्ण गाउँपालिका–६, लुम्लेमा रहेको संगम माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
समाजसेवी गौचनले आफ्नो जन्मदिनमा हरेक वर्ष शिक्षा, स्वास्थ्य, वातावरण र समाजसेवाका क्षेत्रमा सक्दो सेवामूलक गतिविधि गर्दै आएको बताए । अघिल्लो वर्ष आफैँले अध्यापन गराएको पाउँदुर आधारभूत विद्यालयलाई सहयोग गरेकोमा यो पटक संगम मा.वि.मा आउन उत्प्रेरणा मिलेको धारणा राखे ।
वडा-६, लुम्लेका वडाध्यक्ष एकदेव देवकोटाले गौचनले सामाजिक तथा शैक्षिक क्षेत्रमा पु¥याएका विविध आयामबारे चर्चा गर्दै सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरे ।
सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गुरुङले आभार व्यक्त गरे ।
लुम्ले कविता गाउँका अध्यक्ष भरत देवकोटाले विश्वमोहन गौचनलाई नाम एक पहिचान अनेक भएका प्रतिभाका रूपमा चिनाए ।
प्रधानाध्यापक रिता खनालले कविता गाउँ लुम्लेका संरक्षकबाट प्राप्त सहयोगले विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई विद्यार्थीलाई सहयोग पुग्ने बताइन् ।
विद्यालयका सहायक प्रधानाध्यापक टंकप्रसाद देवकोटाले गौचनको जीवनयात्रा पछिल्लो पुस्ताका लागि प्रेरणादायी रहेको धारणा राखे ।