गण्डकी प्रज्ञा-प्रतिष्ठानले १४ महिनापछि पायो पदाधिकारी कुलपतिमा प्रा.डा. कुसुमाकर न्यौपाने, सदस्य-सचिवमा दोहोरिए मनकुमार श्रेष्ठ
असफल गौतम
गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले २०८२ वैशाख २७ गते प्रकाशित गरेको प्राज्ञ नियुक्ति प्रक्रियाले २०८३ असार २३ गते पूर्णता पाएको छ ।
२०८२ वैशाख १४ गतेदेखि रिक्त रहेको प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ नियुक्तिका लागि वैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयले तय गरेको मापदण्डका आधारमा २४ जना प्राज्ञका लागि ९५ जनाका आवेदन परेका थिए । जसमध्ये केही आवेदन शैक्षिक योग्यता प्रमाणपत्र अर्थात् १०+२ तह उत्तीर्ण नभएकाले स्वतः रद्द भएका थिए ।
प्रज्ञा-प्रतिष्ठानको पहिलो कार्यकालका पदाधिकारीबाट प्रज्ञा-प्रतिष्ठानको मर्म अनुसारको कर्म नभएकाले मन्त्रालयले कार्यविधि नै तयार गरेर यो पटक प्राज्ञ आह्वान गरेको थियो । विज्ञापन खुलाएर प्राज्ञ आह्वान गरिए तापनि अदृश्य र अनौठो राजनीतिक परिदृश्यका कारण नियुक्ति प्रक्रिया पेचिलो बन्दा पदाधिकारीविहीन प्रज्ञा–प्रतिष्ठानको कार्यालय १४ महिना ९ दिनसम्म कर्मचारीले कुर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
तत्कालीन सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रज्ञा–प्रतिष्ठान सञ्चालन प्रक्रियामा केही घाँस र घोडाप्रेमी प्रवृत्तिका कारण कार्यसम्पादनमा पारदर्शिताको समस्या देखिएकाले प्रतिष्ठान स्थापनाकै वर्ष खारेज गर्न सुझाव पेश गरेपछि यस क्षेत्रको वाङ्मय जगत्ले कस्ता प्राज्ञ बनाउने, कस्तो प्रज्ञा-प्रतिष्ठान बनाउने भन्ने विषयमा खबरदारी गरेका थिए ।
गण्डकी प्रदेशको, भाषा, साहित्य, कलाको श्रीवृद्धिका लागि स्थापना भएको प्रतिष्ठानमा अघिल्लो कार्यकालमा ललितकलालाई उपेक्षा गरिएको भनेर गुनासो भइरहेका बेला पछिल्लो समय प्रतिष्ठान नै प्राज्ञविहीन हुँदा लज्जाको विषय भएको सरोकारवालाको भनाइ थियो ।
सत्ता साझेदार नेपाली काङ्ग्रेस र नेकपा एमालेको दुई दलीय सहमति अनुसार काङ्ग्रेसका भागमा परेका गण्डकी विश्वविद्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा काङ्ग्रेस निकट पदाधिकारी नियुक्त हुँदा एमालेको भागको गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा अघिल्लै कार्यकालका निर्देशक पुनः नियुक्त हुँदा गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्त प्रक्रियाले पूर्णता प्राप्त गर्न सकेको थिएन ।
प्रतिष्ठानका अन्य पदाधिकारीमा खासै चासो नदेखिए तापनि कुलपतिको मर्यादा प्रदेश सरकारतर्फको ११ औंँ तह बराबरको तलब भत्ता, ड्राइभरसहितको सवारी र ७५ लिटर पेट्रोल सुविधाले गर्दा कुलपतिको दौड दिनप्रतिदिन पेचिलो बन्दै गएको थियो ।
दर्ता सूची अनुसार को–को थिए आवेदक ?
प्राज्ञका आवेदकमा वाङ्मयसेवी सूर्य खड्का बिखर्ची, चूनबहादुर राना, रामभक्त जोजिजू, बाबुराम बस्ताकोटी, नगेन सिंह, इतु जोजिजू, प्रेमराज अधिकारी, दिवाकार भण्डारी, छविलाल घर्ती मगर, नरेन्द्र रानाभाट, अनुप पाण्डे, विश्वराज रसाइली, केयरसिंह गुरुङ, माधव वियोगी, गुरुदत्त शर्मा दवाडी, शिव सिर्पाली, देवबहादुर पुन, मिलन खत्री, केशवराज तिवारी, पार्वती अधिकारी, डा. विष्णुप्रसाद शर्मा, पवित्रा घिमिरे, शिवप्रसाद त्रिपाठी, शंकरमणि त्रिपाठी, ईश्वरीप्रसाद भुषाल, प्रा.डा. यमबहादुर पौडेल क्षत्री, अनुराग अधिकारी, सन्जु महतो, कमल पौडेल अथक, वसन्त अधिकारी, राजन कार्की, नविन गुरुङ, कृष्णप्रसाद पौडेल रहेका थिए ।
यसैगरी वाङ्मयसेवी टुकादेवी पौडेल आचार्य, शान्तिकुमारी गुरुङ, गायत्री पराजुली, दुर्गाबहादुर शाह, डा.ईश्वरचन्द्र वाग्ले, श्रीजंग गुरुङ, महादेव न्यौपाने, मोहराज शर्मा, होमबहादुर गुरुङ, चोलेन्द्र पौडेल, डा. वीरेन्द्र पुडासैनी, घनश्याम रिजाल, कृष्णकुमार गुरुङ, राजेन्द्र सापकोटा, सुनिता नेपाली, रुद्रबहादुर थापा, राम्जीप्रसाद पौडेल, तीर्थराज सुवेदी, उज्ज्वलबहादुर नर्पाली, बालकासी गुरुङ, हरिमाया श्रेष्ठ, सन्तोष पराजुली, वसन्तप्रसाद चालिसे, डा. मतिप्रसाद ढकाल, युवराज भण्डारी, ऋषिकेश बराल, लक्ष्मी थापा, शंकर विरही गुरुङ, भूपेन्द्र बानियाँ, नारायणबहादुर गुरुङ, डा. विष्णुकुमार सिञ्जाली थिए ।
प्राज्ञ आवेदन दिने वाङ्मयसेवीमा रिकबहादुर गुरुङ, चन्द्रबहादुर राना, केशवराज घिमिरे, शान्ता बास्तोला, कृष्णप्रसाद रेग्मी, सन्दीप नगर्ची, मिनबहादुर वि.क., इन्द्रमान खत्री, छविलाल सुवेदी, सुरज आचार्य, जसमाया गुरुङ, डा. गणेश शर्मा, अर्जुनकुमार गैह्रे, डिलकुमारी पौडेल, डा. देवकी आचार्य, प्रेमबहादुर थापा, शान्ति पोखरेल भुषाल, कृष्णकुमार नेपाली, प्रा.डा. कुसुमाकर न्यौपाने, बुद्धिबहादुर राना, रविन्द्र माकाजू, वर्षाकेशव पराजुली, सुन्दरप्रसाद जोशी, शिवराज देवकोटा रहेका थिए ।
प्रतिष्ठानको कुलपतिमा नेपाली काङ्ग्रेस निकट प्रा.डा. कुसुमाकर न्यौपाने, कमल पौडेल अथक र बुद्धिबहादुर (कुमार) राना र एमाले निकट आधा दर्जन पदाधिकारीले आवेदन दिएका थिए । मन्त्रालयले आवेदन माग गरे तापनि आवेदकमा रहेको योग्यता, क्षमता र कार्यकौशलताको लेखाजोखा भन्दा सत्ता साझेदार दल निकटका व्यक्तित्वलाई प्रतिष्ठानका प्रमुख संरक्षक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार कुलपतिसहित २४ जना पदाधिकारी नियुक्त गरे ।
प्रतिष्ठानको कुलपतिमा प्राडा. कुसुमाकर न्यौपाने, उप-कुलपति शङ्कर विरही गुरुङ र सदस्य सचिवमा मनकुमार श्रेष्ठ नियुक्त भएका छन् ।


प्रतिष्ठानका अन्य प्राज्ञसभा सदस्यमा अनुराग अधिकारी, इन्द्रमान खत्री, ईश्वरीप्रसाद भुसाल, प्राडा. ईश्वरचन्द्र वाग्ले, कमल पौडेल अथक, कृष्णकुमार गुरुङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुकादेवी पौडेल आचार्य, पवित्रा घिमिरे, बाबुराम बस्ताकोटी, बालकाशी गुरुङ, भूपेन्द्र बानियाँ, रामभक्त जोजिजू, रामजीप्रसाद पौडेल, वसन्त अधिकारी, डा वीरेन्द्र पुडासैनी, शान्ता बास्तोला, शान्ति भुसाल, सन्जु महतो थनेत र हरिमाया श्रेष्ठ छन् ।

भागवण्डाका आधारमा दुई दलका पदाधिकारी प्राज्ञ चयन भए तापनि संघीयता र समावेशीको मर्म अनुसारको प्रतिनिधित्व भने पाइँदैन । गण्डकीका ११ जिल्लामध्ये बाग्लुङ, मनाङ र मुस्ताङको प्रतिनिधित्वका साथै जातीय हिसाबले मगर र शिल्पी समुदायको प्रतिनिधित्वसमेत शून्य देखिनु लोकतन्त्रको सौन्दर्य सुहाउँदो देखिँदैन ।
