MONDAY OCT 13, 2025

नेतृत्वशक्ति निर्माणमा नेलम्बो नेपाल

असफल गौतम |

‘नेलम्बो नेपालको छात्रवृत्ति मेरो भविष्यको प्रेरणाको स्रोत भएर आयो’ –मञ्जु श्रीपाली ।
‘नेलम्बो नेपालबाट मैले पूर्ण छात्रवृत्ति नपाएका भए मेरो प्राविधिक शिक्षा लिने इच्छा अपूरो हुने थियो’ –हरि गिरी ।
‘छात्रवृत्ति रकम कति छ थाहा छैन !’ –मनिका देवकोटा, निश्चल ढकाल ।

अन्नपूर्ण गाउँपालिका–२ निवासी मञ्जु श्रीपालीका अभिभावकलाई छोरीले माध्यमिक शिक्षा पूरा गरेकोमा खुसी भन्दा अगाडिको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ताले दुःखी बनाइरहेको थियो । उनीमात्र होइन, अन्नपूर्ण–८ का हरि गिरीलाई कम्प्युटर इञ्जिनियरको उत्कण्ठाले अत्याइरहँदा उनका बाबाआमाको मुहार उस्तै चिन्तित देखिन्थ्यो ।

यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्तै बाध्यता र विवशतामा पिल्सिएका छात्रछात्राकै रुचि अनुरूपको उच्च शिक्षाका लागि नेलम्बो नेपाललले कक्षा ११, १२ र स्नातक अध्ययनरत सामुदायिक विद्यालयका ४१ छात्रछात्रालाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको माछापुच्छ्रे मा.वि.मा आफ्नो रुचिको विषय व्यवस्थापनमा भर्ना भएकी श्रीपालीका परिवारले १८ हजार पाँचसय रुपैयाँ छात्रवृत्तिको सम्झौतामा हस्ताक्षर गर्दा वीरेठाँटी मा.वि.मा कम्प्युटर साइन्समा भर्ना भएका होचो कदका हरि गिरी भने छ डिजिट अङ्कको छात्रवृत्तिमा हस्ताक्षर गरिरहेका थिए ।

यता बालमन्दिर मा.वि.मा विज्ञान संकायतर्फ १२ मा अध्ययनरत मनिका देवकोटा र निश्चल ढकाल भने आफूले छात्रवृत्ति पाएको ५१–५१ हजार रकमबारे हस्ताक्षर अगाडिसम्म बेखबर देखिन्थे । किनकि संस्थाले विद्यालयबाटै छात्रवृत्तिका लागि आवश्यक रकमबारेको विवरण
मागेको थियो । सोही अनुसार विद्यार्थीले शिक्षा, व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर इन्जिनियरलगायतका विविध धारमा उच्च शिक्षा लिइरहेका छन् ।

यसरी कोहीलाई १८ हजार पाँच सय, कोहीलाई ५१ हजार र कोहीलाई एकलाख बढीको छात्रवृत्ति संस्थाको मापदण्ड नभएर विद्यार्थीको क्षमताले निर्धारण गरेको रकम थियो । यसैले छात्रछात्रा संस्थाका अध्यक्षलाई गुरु मानेर चरणकमलमासमेत परिरहेका देखिन्थे । एउटा गैरसरकारी संस्थाको उक्त कार्यले भने राज्यको आरक्षण कोटामा महलवासीलाई संरक्षित गरेर दुई नम्बरी गर्नेहरूलाई कुरीकुरी गरिरहेको स्वाभिमानी नेपालीलाई बोध भइरहेको थियो ।

संस्थाले माछापुच्छ्रे गाउँपालिकाका जनप्रिय आधारभूत र उदय मा.वि., अन्नपूर्ण गाउँपालिकाको पाउदुर आधारभूत विद्यालयमा विद्यालयको आवश्यकता बमोजिम शिक्षकसमेत व्यवस्था गरेको अध्यक्ष एकदेव देवकोटा बताउँछन् ।

छात्रवृत्ति वितरण गर्दै कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सरकारले मात्र समाधान गर्न नसक्ने समस्या समाधानमा यस्ता संस्थाको भूमिका महत्त्वपूर्ण रहने बताए । उनले नेलम्बो नेपालले हाल सञ्चालन गरेको मोवाइल दन्त क्लिनिक र कोरोनाकालमा पुर्याएको सहयोगको प्रशंसा गरे । अभिभावकलाई समय–समयमा विद्यालय गएर छोराछोरीको शैक्षिक प्रगति सोधखोज गर्न सुझाव दिएर निस्केका ओझाले संस्थाले अपनाएको कार्यसम्पादन प्रक्रिया सिक्नपर्ने देखिन्छ, किनकि उनी जनताका प्रतिनिधि हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले चिन्तालाई चिन्तनमा बदलेर काम गर्ने संस्थाका रूपमा नेलम्बो नेपाललाई चिनाउँदै छात्रवृत्ति पाउनु ठूलो उपलब्धि भएकाले त्यस प्राप्तिलाई लक्ष्य प्राप्तिमा जोडेर प्रमाणित गर्न मेहनतका साथ अगाडि बढ्न सुझाए ।

संस्थाका उपाध्यक्ष सरोज कोइरालाले संस्थाको प्रमुख कार्यक्रम गुणस्तरीय शिक्षा रहेकाले छात्रवृत्ति वितरण कार्यविधि बनाएर विद्यार्थीको रुचिअनुसारको अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको बताए ।

कार्यक्रम अधिकृत भीमप्रसाद भण्डारीले कास्की महानगरसहित पाँच पालिका, लमजुङको मर्स्याङ्दी गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका र म्याग्दी जिल्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको जानकारी गराउँदा संस्थाकी एजुकेशनल सुपरभाइजर निर्मला देवकोटा संस्थाले चार वर्षदेखि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएको बताउँछिन् ।

(कोरोना कालमा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनसँगको सहकार्यमा नेलम्बो नेपाल)

के हो नेलम्बो नेपाल ?
नेपाली अति गरीब सीमान्तकृत तथा जैविक विविधता संगठन नेपालको सङ्क्षिप्त रूप हो, नेलम्बो नेपाल । समाजसेवी भावनाका व्यक्तित्व एकदेव देवकोटाको उत्कण्ठित अभिलाषाका कारण प्रत्येक मानिस स्वास्थ्य र शिक्षा पाउन योग्य भएर पनि ग्रामीण भेगका जनतालाई सानातिना समस्याले उठन् दिँदैन भन्ने मर्मलाई आत्मसात गर्दै उनीहरूको जीवनस्तर उकास्न उनै देवकोटा संस्थापक अध्यक्ष रहेर स्थापना भएको संस्था हो ।

उनको उत्कण्ठालाई उपाध्यक्षमा सरोज कोइराला, सचिवमा सजनी उदास, कोषाध्यक्षमा अञ्जना तझ्या र सदस्यमा क्रमशः डा. कपिल अधिकारी, डा. किसन कोइरााल र सुमेरू त्रिपाठी रहेर हौसला दिए ।

अन्ततः २०७४ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध गैर–सरकारी र गैर–नाफामुखी संस्था नेलम्बो नेपालले शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको छ । संस्थाको पछिल्लो अधिवेशनले संस्थापक सदस्य डा किसन कोइरालालाई विदाई गर्दै राकेश जोशीलाई निर्वाचित गराउँदै देवकोटा नेतृत्वकै सिङो टिमले संस्थाको बागडोर समाति रहेको पाइन्छ ।

स्थापनाकालदेखि हालसम्म एकहजार चारसय ५८ विभिन्न एकल तथा सहकार्यमूलक गतिविधिबाट झण्डै पाँच लाख जनसंख्या लाभान्वित भइसकेका छन् । यो मात्र नभएर कार्यक्रम अधिकृतदेखि कार्यालय सहायकसम्म १६ जनाले रोजगारीसमेत प्राप्त गरी आफ्नो जिजीविषा पूरा गरिरहेको देखिन्छ ।

कोरोना कालमा राज्यका अधिकांश निकायमा सहायता सामग्री सहयोग प्रदान गरेर सबैको मन जित्दै आएको नेलम्बो पछिल्ला दिनमा मोवाइल भ्यानसहितको दन्त शिविर सञ्चालन गरेबाट संस्थाले दिनप्रतिदिन आफ्नो लोकप्रियता बढाउँदै गरेको देखिन्छ ।

नेलम्बो नेपाल साच्चै राज्यमा नेतृत्वशक्ति निर्माणको अभियानमा क्रियाशील देखिन्छ । किनकि राज्यमा जीवनको महत्त्वपूर्ण समय २०–२५ वर्ष लगाएर २०–२५ जनाको संख्यामा रहेका तर हजारौँ आमाबुबाको मुटु जोगाउनेहरूले देश छोड्नु पर्ने अवस्था छ ।

केही समय अगाडि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन प्रा.डा. रामेश कोइराला देशको व्यवस्थाप्रति दिक्क हुँदै “कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु” भन्दै पेशा र देश छोड्दाको अभावपूर्तिमा नेलम्बो नेपाल जस्ता संस्था नेपालमै चाहिने चिकित्सक, वैज्ञानिक, चार्टर एकाउन्टेन्ट उत्पादन गर्न सफल होस् हाम्रो कामना !

Facebook Comments