MONDAY NOV 23, 2026

गण्डकी प्रज्ञा-प्रतिष्ठानमा ‘न्यूरो आर्ट’ कार्यशाला हुँदै

गण्डकी प्रज्ञा-प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य (न्यूरो आर्ट) कार्यशाला’ आयोजना गरेको छ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा न्यूरो आर्टमार्फत व्यक्तिको मानसिक स्वास्थ्य, आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकासमा जोड दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले न्यूरो आर्ट केवल कलासँग सम्बन्धित विषय मात्र नभई मन, मस्तिष्क र समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने प्रभावकारी माध्यम भएको बताइन्।

उनले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य सुदृढ बनाउन, सिर्जनशीलता अभिवृद्धि गर्न र व्यक्तिको आत्मविश्वास बढाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। उनले प्रतिभाको विकास, संस्कृति संरक्षण तथा सृजनात्मक समाज निर्माणमा यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै मन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका कुलपति प्रा. डा. कुशुमाकर न्यौपानेले प्रतिष्ठानले अब भाषिक शुद्धता अभियानलाई प्राथमिकतामा राख्ने जानकारी दिए। उनले विद्यालयका शिक्षक, प्राध्यापक, पत्रकार तथा लेखनसँग सम्बन्धित सबै वर्गमा भाषिक सचेतनाको कमीका कारण आमजनताले दुःख पाएको उल्लेख गर्दै त्यसलाई सुधार गर्न प्रतिष्ठानले ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सञ्चालन गर्न लागेको बताए।

उनका अनुसार यही साउन २९ गते ‘भाषिक त्रुटि पहिचान र निराकरणका उपाय’ विषयक गोष्ठी आयोजना गरिने छ त्यसपछि प्रदेशका सबै ११ जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गरिने छ। अभियानले पत्रकार, लेखक तथा कलमजीवीलाई भाषिक त्रुटिबाट सचेत गराउँदै आमसञ्चार र लेखनलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे।

कुलपति न्यौपानेले अनुसन्धानलाई पनि प्रतिष्ठानले विशेष प्राथमिकता दिएको उल्लेख गर्दै अनुसन्धानकर्तालाई आवश्यक तालिमबिना फिल्डमा पठाउन नहुने धारणा राखे। उनले फोटोग्राफी, भिडियोग्राफी तथा अनुसन्धानका विधि र मापदण्डबारे प्रशिक्षण दिएपछि मात्रै अनुसन्धान कार्य प्रभावकारी हुने बताए। यस वर्ष गण्डकी प्रदेशका कोट, गुठी, मठमन्दिर, लोकमन्त्र, लोकविश्वास, जडीबुटी, वनस्पति, परम्परागत खानपान लगायतका विषयमा विभिन्न गोष्ठीपत्र तयार गरिने, आगामी वर्ष अनुसन्धान पद्धतिबारे विस्तृत छलफल गरी अनुसन्धानकर्तालाई व्यवस्थित रूपमा अनुसन्धानमा परिचालन गरिने योजना पनि उनले सार्वजनिक गरे।

उनले न्यूरो आर्ट कार्यशालाले कला र सिर्जनात्मक गतिविधिप्रति थप उत्साह जगाएको उल्लेख गर्दै कम लागतमा समेत प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने भएकाले प्रतिष्ठानले त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

 प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङले स्वागत मन्तव्य राखेका थिए भने सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए।

कार्यशालामा डा.निर्मल लामिछाने मुख्य प्रशिक्षकका रूपमा रहेका थिए। साथै कार्यक्रम संयोजक तथा प्रतिष्ठानका प्राज्ञ बाबुराम बस्ताकोटी र पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ हरेराम जोजिजुले सहजीकरण गरेका थिए।

कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका शिक्षा तथा संस्कृति महाशाखा प्रमुख घनश्याम पौडेल, मन्त्रालयका कर्मचारी,  प्रतिष्ठानका पदाधिकारी तथा सदस्य, पोखरा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ तथा न्यूरो आर्टप्रति रुचि राख्ने विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता थियो।

Facebook Comments