SUNDAY APR 26, 2026

गण्डक क्षेत्रले साहित्यिक साम्राज्ञी जन्माएन : सरस्वती प्रतीक्षा

साहित्यकार सरस्वती प्रतीक्षाले कुनै समय लेखेको कार्यपत्रमा गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राटहरू जन्मायो तर एउटा पनि साहित्यिक साम्राज्ञी नजन्माएको विषय उल्लेख गरेकी थिइन् । धेरैपछि प्रतिक्षाले सोही शब्द दोहो¥याइन्, ‘केही समय पहिले ८/१० वर्ष पहिला जस्तो लाग्छ मैले एउटा कार्यपत्र लेखेकी थिएँ । त्यसमा के लेखेको थिएँ भने गण्डक क्षेत्रले थुप्रै साहित्यिक सम्राटहरू जन्मायो तर एउटा पनि साहित्यिक साम्राज्ञी जन्माएन् ।’

पोखरा–१३ को आयोजनामा वडा परिसरमा शनिबार भएको दोस्रो साहित्य पर्व–२०८३ मा यो विषय उठान गरेकी हुन् । ‘साहित्यमा नारीको प्रतिनिधित्व’ शीर्षकको सेसनमा सहजकर्ता हसिना बस्नेतसँग कुरा गर्दै उनले गण्डक क्षेत्रबाट राष्ट्रकवि माधव घिमिरे, कविशिरोमणि लेखनाथ पौडेल, जनकविकेशरी केशरी धर्मराज थापा लोकवि अली मियाँलगायत थुप्रै साहित्यिक सम्राटहरू आए पनि महिलाको नाम नआएको प्रसङ्ग उठाइन् । ‘गण्डक क्षेत्रबाट साहित्यमा एउटा महिला साहित्यकारको नाम लिन सक्नुहुन्छ तपाईंले ? कसैको पनि सक्नुहुन्न । बरु गायनको क्षेत्रमा आउनुभएको छ, अन्य क्षेत्रमा आउनुभएको छ,’ उनले भनिन्, ‘साहित्यिक साम्राज्ञी भनेर कोही आउनुभएको छैन् । संख्यात्मक रूपले कम भन्दिनँ म, तर गुणात्मक हिसाबले सायद हाम्रो गण्डक क्षेत्रले राम्रो महिला साहित्यकारलाई जन्माउन सकिराखेको छैन र हामी जन्मन सकिरहेका छैनौं ।’

महिलालाई पहिचानले भन्दा पनि सम्बन्धका नातागोतामा मात्रै सीमित पारिने साहित्यकार प्रतीक्षाले बताइन् । ‘कविताको भावभूमि के छ भने त्यहाँ एउटा पात्र हुन्छे जो फूलजस्तै असाध्यै राम्री हुन्छे । सबैले उसलाई बिहे अगाडि फूलमाया भन्छन् । उसको एकजना कान्छासँग बिहे हुन्छ सबैले कान्छी भनेर भन्छन् । केही वर्षपछि बच्चा जन्मिन्छ, उसलाई फेरि कालुकी आमा भनेर भन्छन्’ उनले भनिन्, ‘एक जीवनको लामो कालान्तरमा महिलाको आफ्नो त कुनै नाम नै हुँदैन । खाली सम्बोधनहरूमा मात्रै ऊ बाँच्छे, ऊ नातागोताहरूमा मात्रै बाँच्छे ।’ महिलालाई उसको सहनशील, संस्कारी, आज्ञाकारी विशेषताले देवीको उपमा दिइने तर खुसीको कुरा गर्दा, थोरै अराजक बन्दा, थोरै बन्धन तोड्दा पतित बनाइने समाजमा महिला बाँच्नुपरेका उनले सुनाइन् ।

नेपाली साहित्यमा वा विश्व साहित्यमा किताबमा नारीलाई वाह भने पनि व्यवहारमा त्यसो नगरिएको उनले दर्शाइन् । ‘किताबका पात्रहरूलाई प्रेम गर्ने गरे पनि त्यही मान्छे फेरि जिन्दगीमा समाजमा त्यस्तै मान्छे देख्यो भने त्यसलाई घृणा गर्ने, दुत्कार गर्ने यो नेपाली समाजको दोगलापनको सिकार नारीहरू पनि छन्’ उनले भनिन् ।

समाज र साहित्य बुझ्नका लागि पढ्नै पर्ने उनको तर्क थियो । ‘मैले यहाँनिर यो बनाउनु पर्छ भन्ने चेतका लागि पनि पढ्न जरुरी छ,’ उनले भनिन्, ‘चाहे महिला होस् अथवा पुरुष लेख्नलाई कसैले फुर्सद हुँदैन भन्छ भने म त्यो कुरा मान्न तयार छु कि उसले झुट बोलिरहेको छैन । किनभने लेख्नका लागि एउटा ठूलो होमवर्क चाहिन्छ ।’ तर पढ्नका लागि कामले नरोक्ने, आफै पनि काम गर्दै अडियो किताब सुन्दै गरेको अनुभव सुनाइन् । उनले दिनमा कम्तीमा एक घन्टा पढ्न छुट्याउनसमेत आग्रह गरिन् ।

एउटा महिला साहित्यकारले गनगन, किचकिच मात्र लेख्यो भनेर आरोप खेप्नुपर्ने अवस्था रहेको उनले सुनाइन् । तर अलि फराकिलो रूपबाट हेर्दा महिला साहित्यकारले गज्जव गरिरहेको प्रसंग पनि उनले उठाइन् । ‘जो एकदमै अध्ययन गरेर लेखिरहेका छन् र लेखनलाई नै साधना बनाइरहेका छन्, खेलाँची होइन । लेखक बन्नका लागि रहरले लेखेर लेखक एकथरी बन्छन्, अर्को थरी लेखेर आफैं लेखक बन्छन्,’ उनले भनिन्, ‘लेखेर आफैं लेखक बन्नेहरू महिलाको केसमा फेरि यो लागेको छैन । अहिले समकालीन नेपाली साहित्यमा असाध्यै राम्रा नारी हस्ताक्षर पनि छन् ।’

महिलाहरूका लागि लेखन यात्रा अझै सहज हुन नसकेको र यसका लागि केवल बाह्य स्वतन्त्रता मात्र नभई बौद्धिक स्वतन्त्रता र निश्चित वातावरणको खाँचो रहेको उनले बताइन् । उनकानुसार एउटी महिलालाई आख्यान वा सिर्जनात्मक लेखनका लागि आफ्नै छुट्टै कोठा र आर्थिक आत्मनिर्भरता अनिवार्य हुन्छ । धेरैजसो महिलाहरू अझै पनि पूर्ण रूपमा स्वतन्त्र हुन नसकेको र स्वतन्त्र भनिएकाहरूमा पनि बौद्धिक स्वतन्त्रताको अभाव रहेको उनको तर्क छ ।

समाजमा पुरुषहरूले आफ्ना घरका महिलालाई बाहिर हिँड्डुल गर्न वा राम्रो पहिरन लगाएर भोजभतेरमा जान छुट दिनुलाई नै स्वतन्त्रता ठान्ने गरेको उनले बताए । तर, त्यही महिलाले घन्टौं कोठामा थुनिएर अध्ययन वा लेखनमा डुब्न खोज्दा पुरुषले त्यसलाई सहजै स्वीकार नगर्ने अवस्था रहेको उनले बताइन् । ‘हामीलाई स्वतन्त्रता मात्र भएर पुग्दैन, बौद्धिक स्वतन्त्रता पनि चाहिन्छ । त्यो बौद्धिक स्वतन्त्रता दिन कति पुरुषहरू तयार छन् भन्ने कुरा सोच्नै पर्ने विषय छ,’ उनले भनिन् ।

महिला साहित्यकारहरूका लागि घर नै सबैभन्दा सजिलो ठाउँ भए पनि त्यहाँ सिर्जनाका लागि आवश्यक एकान्त पाउन कठिन रहेको उनले बताइन् । घरका अन्य सदस्यहरूले महिलालाई घुमफिरमा रोकतोक नगरे पनि घरायसी जिम्मेवारी छाडेर दिनभरि लेख्न बस्दा व्यवहार बदलिने गरेको अनुभव उनले सुनाइन् । ‘एकदिन मलाई डिस्टर्ब नगर, आफैं पकाएर खाऊ, छोराछोरी हेर भनेर कोठा थुनेर लेख्न बस्नुस्, भोलिपल्टबाट पुरुषको व्यवहार नै अर्कै हुन्छ’ उनले भनिन् । यिनै संरचनात्मक र सोचगत कठिनाइहरूका कारण महिलाका लागि लेखक बन्ने बाटो अझै पनि चुनौतीपूर्ण रहेको उनको निष्कर्ष थियो ।

Facebook Comments