TUESDAY AUG 11, 2026

नेपाली विभागमा सीता–तीर्थ छात्रवृत्ति विमर्श

नेपाली विभाग पृथ्वीनारायण क्याम्पस पोखरामा विभागद्वारा सञ्चालित सीता–तीर्थ छात्रवृत्तिमाथि विमर्श भएको छ ।

वाङ्मयसेवी मुक्तकमणि तीर्थराज अधिकारी र उनकी धर्मपत्नी सीतादेवी अधिकारीको सदीक्षामा स्थापित छात्रवृत्ति सञ्चालन तथा वितरणबारे अधिकारी दम्पत्तिको समुपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

पछिल्लो समय अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका अधिकारी नेपाल सरकारको उपसचिव पदबाट अवकाश प्राप्त दर्जन ज्यादा कृतिका सर्जक हुन् ।

सो अवसरमा अधिकारीले विभागीय छात्रवृत्ति कोष वृद्धिका लागि विभागीय प्रमुख डा. लक्ष्मीशरण अधिकारीलाई ५० हजार नगद हस्तान्तरण गरे ।
रकम हस्तान्तरण गर्दै मुक्तकमणि अधिकारीले देशमा प्रजातन्त्र प्राप्तिका लागि विद्यार्थी जीवनदेखि गरेको सामाजिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक कर्मको स्मरण गर्दै भने, ‘रोपेको फल कुनै न कुनै बेला फुल्छ, फल्छ त्यसले सुगन्ध छर्छ भन्ने मर्मलाई बोध गरेर आफूसँग भएको दुई चार पैसा सत् कर्ममा लाग्दै आएका संस्थामा प्रोत्साहनका लागि बिऊका रूपमा अगाडि सार्ने गरेको छु ।’

कार्यक्रममा निवर्तमान विभागीय प्रमुख प्रा.डा. यमनाथ तिमिल्सिनाले पुण्य कर्मले जीवनलाई सत् मार्गमा निर्देशन गर्ने बताउँदै छात्रवृत्तिले विद्यार्थीको पठनपाठनलाई प्रोत्साहन मिलेको धारणा राखे ।

शालिग्राम–कृष्ण पौडेल छात्रवृत्ति कोषका संस्थापक कृष्णप्रसाद पौडेलले विभागीय छात्रवृत्तिमा रकम बढ्दै जानु संस्था र प्रतिभा दुवैका लागि गौरवको विषय रहेको धारणा राखे ।

विभागीय सदस्य डा. श्रीधर न्यौपानेले विभागीय छात्रवृत्तिलाई सही तरिकाले परिचालन गर्न विनियम बनाएर अगाडि बढेको जानकारी गराए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले मनका धनी प्रतिभा अधिकारीले अहिलेको नेपाल बसाइँमा ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको अक्षयकोषमा ५० हजार, गीताञ्जली साहित्य परिवारको अक्षयकोषमा एकलाख रुपैयाँ वृद्धि गरेको जानकारी गराए ।

सहप्राध्यापक डा. पुण्यप्रसाद पौडेलले अधिकारी परिवारको उपस्थिति अनुकूल नभए तापनि प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्दै
आएकामा यसरी साक्षात्कार गर्न पाउनु गौरवको विषय भएको बताए ।

उपप्राध्यापक कल्याण पन्तले मुक्तकमणि अधिकारीले आफ्नो पेन्सनबाट आएको रकम सामाजिक सेवाका क्षेत्रमा लगाउँदै आएको जानकारी गराए ।

विभागीय प्रमुख डा. लक्ष्मीशरण अधिकारीले जीवनको मूल मर्म खुसी भएको दृष्टान्त पेश गर्दै मुक्तकमणि अधिकारी परिवारमा पारिवारिक मेलमिलाप, कार्ययोजनाप्रतिको लगनशीलता, खुला हृदय र मनकारी स्वभावले जीवनयात्रालाई जीवन्त तुल्याएको धारणा व्यक्त गरे ।

विभागीय सदस्य उपप्राध्यापक यादवराज उपाध्यायले अधिकारीको साहित्यिक क्षेत्रको ख्याति र नेपाली भाषासाहित्यप्रतिको सद्भावले विभागलाई थप ऊर्जा मिलेको दाबी गरे ।

Facebook Comments