WEDNESDAY JUL 01, 2026

अधिकारी र भैरव सांस्कृतिक समितिलाई धर्मराज–सावित्री थापा पुरस्कार

नेपाली लोकसंस्कृति र वाङ्गमयको जगेर्नामा समर्पित जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले यस वर्षका दुई राष्ट्रिय पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा बसेको बैठकले कला, साहित्य र लोक–सङ्गीतको श्रीवृद्धिमा अहोरात्र खट्ने दुई नक्षत्रलाई सम्मानित गर्ने निर्णय गरेको हो ।

धर्मराज–सावित्री थापा लोक संस्कृति–साहित्य पुरस्कार (२०८३) नेपाली लोक–संस्कृति र साहित्यको उत्थानमा मन, वचन र कर्मले निरन्तर समर्पित रहँदै राष्ट्रियस्तरमा विशिष्ट योगदान पु¥याएका स्याङ्जाका साधक विश्वप्रेम अधिकारीलाई समर्पण गर्ने निर्णय गरिएको छ ।

पुतलीबजार–१० स्याङ्जामा १९९९ श्रावणमा जन्मेका अधिकारीका कविता, काव्य, कथा, निबन्ध, संस्कृति, समीक्षा कथासहित ११ कृति प्रकाशित छन् । उनले कल्याणी, रहर, रजस्थललगायतका साहित्यिक पत्रिकामा प्रधानसम्पादक तथा सम्पादक रहेर साहित्यिक पत्रकारिता क्षेत्रमासमेत लामो योगदान दिएका छन् ।

अधिकारी यस अघि शङ्खनारायण साहित्य पुरस्कार २०५३, कालीगण्डकी साहित्य कला पुरस्कार २०५३, बालनरसिंह सुवर्णकुमारी साहित्य पुरस्कार २०५९, पल्लव भाष्कर लामिछाने साहित्य पुरस्कार २०६६, त्रिमूत्र्ति पुरस्कार २०६९, नेत्रशोभा स्मृति पुरस्कार २०७२, तुलसीराम स्मृति पुरस्कार २०७४, कृष्णमुना साहित्य पुरस्कार २०८२, नई धनरूप पुरस्कार २०८१, नरेन्द्र शर्मा साहित्य पत्रकारिता पुरस्कार २०८२, वी.डी. त्यागी साहित्य पुरस्कार, भैरव भाषा वाङ्मय पुरस्कार, टिमुरको झोल कथाकृतिका लागि उत्कृष्ट कथाकृति पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।

ज्योति आवासीय विद्यालय, नेपाली शिक्षक संघ, जोर्ज जोन शिक्षा प्रतिष्ठान, अलीमियाँ लोकवाङ्मय प्रतिष्ठान, नेपाली लेखक संघ गण्डकीद्वारा अभिनन्दित अधिकारी विभिन्न संस्थागत सम्मानबाटसमेत सम्मानित भइसकेका छन् । हाल उनी पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका कुलपति रहेका छन् ।

यसैगरी धर्मराज–सावित्री थापा लोकगीत–सङ्गीत पुरस्कार (२०८३) छ दशकभन्दा बढी समयदेखि नेपाली लोकगीत र सङ्गीतको संरक्षणमा अविचलित रूपमा क्रियाशील भैरव सांस्कृतिक संरक्षण समिति (गम प्याँख), पोखरालाई अर्पण गरिने भएको छ । संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मौलिक कला र संस्कृतिको साख जोगाउन विशिष्ट सांस्कृतिक योगदान पु¥याउँदै आएको छ ।

विशेषतः नेवार समुदायले सञ्चालनको अभिभारा लिँदै आएको भैरव नृत्य २०२९ सालमा भैरव सांस्कृतिक संरक्षण समिति गठन गरी संस्थागत हुँदै आएको छ । शुरुमा १२ वर्षमा देखाइने उक्त नृत्य पछिल्लो समय छ वर्षको अन्तरालमा सञ्चालन हुँदै आएको समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्ग बताउँछन् ।

भैरव नृत्यमा काली, इन्द्रायणी, बाराही, कुमारी, बैष्णवी, ब्रम्हायणी, गंगा, गणेश, दागिनी, भुच्चा र कवाङ गरी १२ पात्र रहेका हुनछन् । नृत्यको नेतृत्व भैरवबाट हुने र १२ पात्रको नृत्य भएकाले यो जनसाधारणमा भैरवनृत्य तथा बाह्र भैरव नृत्यका नामले परिचित हुँदै आएको पाइन्छ ।

प्रतिभा चयनका लागि अग्रज पत्रकार तथा साहित्यकार कृष्णप्रसाद बास्तोलाको संयोजकत्वमा साहित्यकार असफल गौतम र कुञ्जराज थापा सदस्य रहेको तीन सदस्यीय समितिको सिफारिसलाई संस्थाले सर्वसम्मान अनुमोदन गरेको प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले जानकारी दिए ।

जनही नगद ५०–५० हजार रुपैयाँ र सम्मान–पत्र रहेका दुवै पुरस्कार जनकविकेशरी धर्मराज थापाको जन्मजयन्ती समारोहका बीचमा साउन १ गते शुक्रबारका दिन पोखरामा एक विशेष समारोहका बीच अर्पण गरिने भएको छ ।

Facebook Comments