TUESDAY APR 21, 2026

‘लेखनाथ महोत्सव अनौपचारिक विश्वविद्यालय’

१ पुस,पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले पुष ३ गते देखि १४ गतेसम्म आयोजना गर्ने २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ महोत्सव आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवकी मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनबाट प्रभावित भएको उद्योग तथा व्यवसायलाई प्रबद्र्धन गर्ने, व्यवसायी र आम उपभोक्ताको खस्किएको मनोबल उच्च बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन् ।

पराजुलीले महोत्सवलाई क्रेता, विक्रेता र उपभोक्ताबीचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको लेखनाथ महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरिन् ।

विहिबारदेखि सुरु हुने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको छ ।

महोत्सवमा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, विउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी हुने भएको छ । महोत्सवमा पर्यटन प्रवद्र्धन सामग्री तथा वित्तीय सेवासम्बन्धीसमेत जानकारी प्राप्त गर्न सकिने भएको छ । महोत्सवमा उधोग, व्यापार, व्यवसाय, सेवामुलक एवं सुचना मुलक सहितका ३ सय ३५ वटा स्टल रहने जानकारी गराइएको हो ।

महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने आयोजकले अपेक्षा गरेको छ भने करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको महोत्सवका प्रचारप्रसार संयोजक धु्रवबाबु भट्टराईले बताए । महोत्सवबाट करिब ९५ लाख रुपैयाँ आम्दानी हुने र ८५ लाख रुपैयाँ खर्च भई १० लाख रुपैयाँ बचत हुने उनले जानकारी दिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्याँस कम्पनीका सञ्चालक धर्मराज बर्तौलालगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव भरतराज ओझा र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सहआयोजना, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले जनाएको छ ।

महोत्सवको टिकट दर विद्यार्थीका लागि ५०, साधारण प्रवेश १०० र कन्सर्ट टिकट २०० तोकिएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। गृहलक्ष्मी ग्याँस कम्पनीको मुख्य प्रायोजनमा हुने उक्त महोत्सवको सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी रहेका छन् ।

Facebook Comments