MONDAY OCT 13, 2025

युवा उद्यमी भाष्कर र राहुललाई डागर स्मृति पुरस्कार

१३ भदौ, पोखरा । युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्याय डागर स्मृति पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन् ।

डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २४ औं स्मृति दिवस समारोह ऋषि पञ्चमीका दिन २० हजार राशिसहितको उक्त पुरस्कार संयुक्तरूपमा अर्पण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रमा पराशरले आफ्ना श्रीमान्को स्मृतिमा प्रतिष्ठान स्थापना गरेर समाजसेवाका क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनले पराशर अब व्यक्ति नरहेर पोखरेली परिवार भएकाले उनको अन्तिम अभिलाषा पूरा गराउन आफूले सक्दो प्रयास गर्दै आएको धारणा व्यक्त गरे ।

पुरस्कृत प्रतिभाबारे बोल्दै आचार्यले थपे– ‘एउटै व्यवसायमा एकै परिवारको ६० वर्षसम्मको निरन्तरता सानो मेहनत, लगाव र इमान्दारिता बिना असम्भव छ ।’ उनले कोहीले आफ्नो सीमित स्वार्थका लागि उल्झन खडा गर्छ भने त्यसमा नअल्झिन सुझाव दिँदै पोखराको लेकसाडइमासमेत आफ्नो उद्यम सञ्चालन गर्न सुझाव दिए ।

सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमका संस्थापक कमलनयन गौतमले जसले जसरी कमाए तापनि त्यसवापतको रकम सेवामा खर्च गरिएन भने त्यो सत् कर्म नहुने बताए । उनले पुरस्कारबाट प्राप्त रकम आफ्नो गुरुकुल आश्रमलाई सहयोग गरेकोमा पुरस्कृत प्रतिभा परिवारप्रति आभार व्यक्त गरे ।

निवृत्त प्राध्यापक मञ्चका अध्यक्ष कृष्णप्रसाद पौडेलले डागर स्मृति प्रतिष्ठान नेपालले समाज रूपान्तर र सामाजिक सेवाका लागि रचनात्मक कार्य गरेकाले यस्ता कार्यको सबैले अनुशरण गर्नुपर्ने बताउँदै पराशरको जीवनयात्रा अरूका लागि प्रेरणादायी रहेको बताए ।

पुरस्कृत प्रतिभा भाष्कर उपाध्यायले आफू उद्यमी तथा समाजसेवी केही नभएर सबैले माया गरेको मान्छे भएकाले केही दाजुभाइ, दिदीबहिनीलाई रोजगारको बाटो देखाउन, मन फुकाएर सहयोग गर्न र राज्यका लागि दुई चार पैसा करका माध्यमबाट योगदान गरेको सामान्य नागरिक रहेको बताए ।

उनले अभिभावकले देखाएको बाटो समातेर हिँड्ने प्रयास मात्र गरेकाले पुरस्कारको हकदार आफूँ नभएर आफ्ना परिवार भएको बताउँदै सोही समारोह बीच पुरस्कारबाट प्राप्त रकम बराबरको रकम थप गरेर सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमका संस्थापक कमलनयन गौतमलाई हस्तान्तरणसमेत गरे ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोविन्द गौतमले राजन पराशर डागरले देखाएको स्टेशनरी व्यवसायका माध्यमले प्रतिष्ठानसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे ।

कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरी सापकोटाले रमा पराशरको जीवनयात्रा र सेवा कर्म सबैका लागि प्रेरणादायी रहेको बताए ।

लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष अम्बु कर्मचार्यले प्रतिष्ठानको कोषको स्तरोन्नतिका लागि १० हजार आर्थिक सहयोग गर्दै रमा पराशरबाट समाजसेवाका क्षेत्रमा लाग्न आफूलाई पनि प्रेरणा मिलेको बताइन् । यसैगरी, समाजसेवी मिला श्रेष्ठले पनि प्रतिष्ठानको अक्षयकोषका लागि १० हजार ५५ रुपैयाँ आर्थिक सहयोग गरिन् ।

पुरस्कृत प्रतिभाबारे प्रकाश पार्दै प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठले प्रतिष्ठानले नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, वातावरण, राष्ट्रसेवा, समाजसेवा, वैदिक सनातन संस्कार संस्कृतिका क्षेत्रमा योगदान पुर्याएका प्रतिभालाई प्रोत्साहन गर्दै आएको जानकारी दिए ।

प्रतिष्ठानका संस्थापक संरक्षक रमा पराशरले प्रतिष्ठान पैसा भन्दा प्रोत्साहनमा विश्वास गर्ने भएकाले प्रतिभावान् युवालाई प्रोत्साहित गर्दै आएको बताइन् ।

प्रतिष्ठानका सचिव असफल गौतमले पुरस्कारबाट समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा, युवा पाइलट दीक्षान्तजंग राणा पुरस्कृत भइसकेको जानकारी दिए ।

संस्थाका का. अध्यक्ष सरिता तिम्सना पगेनीले आफ्नो सक्रिय पत्रकारिताको यात्रामा रमा पराशरसँग जोडिएर आज सोही संस्थाको नेतृत्वमा रहेर थप सेवाका कर्ममा जोडिन पाउनु आफ्ना लागि अवसर भएको बताइन् ।

सोही समारोह बीच प्रतिष्ठानका परिकल्पनाका दीपेन्द्र श्रेष्ठ नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट राष्ट्रिय पत्रकारिता पुरस्कार-२०८१ बाट पुरस्कृत भएकामा र संस्थाका का. अध्यक्ष सरिता तिम्सिना पगेनी गण्डकी प्रदेश सरकार प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद् सदस्यमा मनोनित भएकोमा बधाईसहित सम्मानसमेत गरिएको थियो ।

Facebook Comments