एसईईको नतिजा मंगलबारसम्म सार्वजनिक हुने
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा मंगलबारसम्म सार्वजनिक गर्ने तयारी भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले कुनै प्राविधिक समस्या नआए अबको दुई दिनभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिइन् ।
गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ बोर्डले काम गरिरहेको छ । यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
यस वर्षको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना, ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना रहेका छन् । जसमा छात्र २ लाख ५४ हजार ८ सय १ जना, छात्रा २ लाख ५७ हजार ६ सय १३ जना र अन्य ७ जना रहेका छन् ।
यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए । विगतका वर्षहरूमा उत्तरपुस्तिका अन्यत्र पठाइने गरिए पनि यस वर्ष जुन केन्द्रमा परीक्षा दिइएको थियो, सोही क्षेत्रमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।
