TUESDAY SEP 15, 2026

न्यूनतम् पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह

जिल्ला समन्वय समिति कास्कीले जिल्लामा न्यूनतम् पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोष तत्काल लागू गर्न आग्रह गरेको छ।

जिसस कास्कीले जिल्लास्थित सम्पूर्ण क्षेत्रमा कार्यरत मजदुर, कामदारहरू र रोजगारदाताहरूको सहभागितामा आयोजना गरिएको कार्यक्रममा उक्त विषयहरू कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

जिसस प्रमुख लिलाधर पौडेलले श्रमजीवि वर्गले पाउनु पर्ने न्यूनतम् पारिश्रमिक नपाएको, श्रम ऎनको प्रभावकारी कार्यान्वयन नभएको र केही मजदुरहरू सामाजिक सुरक्षा कोषमा आबद्ध नगराइएको पाइएकाले तत्काल योजना बनाइ कार्यान्वयन गर्न अनुरोध गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले न्यूनतम् पारिश्रमिक, श्रम ऎन र सामाजिक सुरक्षा कोषको आबद्धता आम श्रमजीवी मजदुरहरूको हक अधिकारसँग मात्रै सम्बन्धित नरहेर रोजगारदाताहरूको दायित्व र राज्यको कर्तव्यसँग पनि जोडिएको विषय भएकाले कास्कीमा निर्वाध थप प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत चण्डिका पौडेलले श्रम ऎन र न्यूनतम् पारिश्रमिकको कानूनी तथा नीतिगत व्यवस्थाका र पोखराका कार्यालय प्रमुख डिपि सुन्दर पराजुलीले कोषका सन्दर्भमा जानकारी गराए ।

कार्यक्रममा जिफन्टका रुद्र खत्री, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, शिक्षा विकास समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, प्रतिभा मा.वि.का प्राचार्य किरण सापकोटासहितले धारणा राखे ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।

Facebook Comments