MONDAY MAY 18, 2026

मानव बेचविखन विरुद्ध स्थानीय समिति

मानव बेचविखन तथा ओसारपसार विरुद्ध पोखराको १९ नम्वर वडामा स्थानीय समिति गठन भएको छ ।

बाल तथा महिला सशक्तिकरण समाज नेपाल कास्कीले आयोजना गरेको भेलाले वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको संयोजकत्वमा १३ सदस्यीय स्थानीय समिति गठन गरेको छ ।

समिति सदस्यमा महिला जनप्रतिनिधि कल्पना सुनार,  महिला सञ्जालकी तिलकुमारी कार्की, निगरानी समूहकी शान्ति बास्तोला, बाल अधिकार समितिकी शर्मिला पोखरेल, बाल मञ्चका निश्चल अधिकारी, लामाचौर सिआरभि प्रमुख विष्णुबहादुर पल्ली मगर, महिला स्वास्थ्य सेविका देवु आचार्य, नागरिक मञ्चका दयाराम गौतम र स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष शिशिर पौडेल छन् ।

समितिको मनोनित सदस्यमा टोल विकास समितिका गोपालप्रसाद पौडेल, आमा समूहकी मोना सुनार र समितिको सदस्य सचिवमा सूर्यबहादुर नेपाली चयन भएको संस्थाकी ईन्दिरा पराजुलीले जानकारी दिइन्।

आस्था परियोजना अन्र्तगत गठन भएको सो समितिले स्थानीयस्तरमा मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनचेतना जगाउने, वडाभित्र जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने, बेचविखन प्रभावितका लागि राहतकोष स्थापना तथा संचालन गर्ने लगायतका काम गर्ने बताईएको छ ।

भेलामा बोल्दै वडाध्यक्ष पाण्डेले मानव बेचविखनको बिषय आफैमा संवेदनशील रहेको बताउँदै, यसको नियन्त्रणका लागि सबै पक्ष जागरुप हुनुपर्नेमा जोड दिए ।  उनले वडाभित्र देखिएका यस्ता किसिमका समस्या समाधान गर्न समितिले सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने अपेक्षा गरे।

लामाचौर सिआरभिका प्रमुख विष्णुबहादुर पल्ली मगरले मानव बेचविखनका विषयमा सहभागिले उठाएका जिज्ञासाको जवाफ दिदैं मानव बेचविखन जस्तो जघन्य अपराधका विरुद्ध प्रहरीको एकल प्रयास मात्र सफल नहुने स्पष्ट पारे ।

कार्यक्रममा निरभय लिगल, ईन्दिरा पराजुलीले आस्था परियोजनाको जानकारी गराउँदै,पोखराका ३३ वटै वडामा स्थानीय समिति गठन भएको बताए ।

Facebook Comments