सात सालको कथा पोखरामा परिचर्चा
फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली लेखक संघ कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीवन्त राखेको बताए । उनले कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गर्दै हिन्दीमा लेखिएको कृति तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि कृतिको महिमा गर्विलो बनेको धारणा राखे ।
कार्यक्रममाथि प्रकाश पार्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले उक्त कृति साहित्य, पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनको त्रिवेणीयुक्त अमर दस्तावेज भएको बताए ।
कार्यक्रममा शंकर ज्ञावाली, धर्मराज अल्पायु, कोषाध्यक्ष गायत्री पराजुली, ढुण्डीराज ज्ञवाली, सह-सचिव वसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी थापा, डा . चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष चन्द्रावती वाग्ले र सचिव रोशन तिमिल्सिनालगायतले गीत, गजल, मुक्तक, कविता वाचन गरेका थिए ।
गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनयमूलक प्रस्तुति देखाएको कार्यक्रमसहित कृति परिचर्चा, गीत, संगीत नृत्य अभिनय र रचनावाचन गरी कार्यक्रम सम्पन्न भएको लेखक संघ कास्कीले जानकारी दिएको छ ।
