राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप राख्ने
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ ।
बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले बुधबारसम्म केन्द्रीय बैंकमा आवेदन बुझाइ सक्नुपर्ने छ ।
केन्द्रीय बैंकले ३६६ दिनसम्मका लागि राख्न लागेको उक्त रकम मध्ये वाणिज्य बैंकमा ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकमा एक अर्ब ५० करोड र राष्ट्रियस्तरका फाइनान्स कम्पनीमा ५० करोड रहने र निक्षेपको ब्याजदर त्रैमासिक भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले राख्न खोजेको निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको पर्ने, न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको पर्ने, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्नेलगायत शर्त केन्द्रीय बैंकले राखेको छ ।
