भूमे मैदान बहुउद्देश्यीय समूहको साधारण सभामा सम्मान
पोखरा-१९, घार्मीमा रहेको भूमे मैदान बहुउद्देश्यीय सामुदायिक समूहले विभिन्न व्यक्ति तथा विद्यार्थीलाई सम्मान गरेको छ।
समूहको सातौं साधारण सभाको अवसरमा दुई दशकदेखि पत्रकारितामार्फत घार्मीको सामाजिक, शैक्षिक, धार्मिक र पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पत्रकार शिशिर पौडेललाई सम्मान गरेको छ।
सम्मान अघिल्लो वर्ष सफाइ अभियन्ता मानध्वज गुरुङलाई प्रदान गरेको समूहका सचिव रामप्रसाद पौडेलले जानकारी दिए।
समूहको स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका संस्थापक अध्यक्ष पोषराज पौडेल, निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल, समूहका उपाध्यक्ष डिल्लीराम पौडेल र माध्यमिक शिक्षा परीक्षा २०८१ मा उत्तिर्ण सदस्यका छोराछोरी सनम पौडेल, प्रमिशा पौडेल, श्रेया पौडेल, आदर्श पौडेल, संघर्ष पौडेल र त्रिशांक पौडेललाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि वडा सदस्य सुनारले समूहले छोटो समयमै सामाजिक रूपान्तरणका क्षेत्रमा उल्लेखनीय कार्य गरेको स्मरण गर्दै, सामाजिक एकताले मात्रै समाज विकासको बाटोमा अघि बढ्न सक्ने बताइन्।
अध्यक्ष पौडेलले संस्थागत गतिविधि जानकारी गराउँदै संस्थागत विकासमा समुदायका हरेक नागरिक सक्रिय रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष पोषराज पौडेल, निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल, सम्मानित पत्रकार शिशिर पौडेल, सम्मानित विद्यार्थी संघर्ष पौडेल, घार्मी जनजागरण आमा समूहकी सचिव हिरादेवी पौडेललगायतले समाजको चौतर्फी विकासमा संघसंस्थाको भूमिका र सहकार्य महत्त्वपूर्ण हुने बताए।
जीवन विज्ञानका योग प्रशिक्षकसमेत रहेका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेलले सहभागीलाई योगसम्बन्धि प्रशिक्षण पनि गराएका थिए।
सभाले अध्यक्ष पौडेल र कोषाध्यक्ष सुनिता अधिकारी पौडेलले पेश गरेको प्रतिवेदन पारितसमेत गरेको छ। बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल्लीराम पौडेलले स्वागत र सहसचिव खेमराज पौडेलले संचालन गरेका थिए।
