हेमजा साहित्य राष्ट्रिय पुरस्कार कवि रमेश श्रेष्ठलाई
हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् ।
कृष्णप्रसाद पौडेलको संयोजकत्वमा कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी सदस्य रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
बिम्बकविका रूपमा सुपरिचित कविता र कलाका सुप्रसिद्ध प्रतिभा प्राज्ञ श्रेष्ठ गीत लेखन र संस्कृति संरक्षणमा पनि सक्रिय देखिन्छन् ।
लोकनृत्य, गाईजात्रा, बाघजात्रा भैरवनृत्य संरक्षणमा चार दशक आफूलाई समर्पित गराएका उनका दर्जन चर्चित कविता कृति प्रकाशित छन् ।
वाङ्मय क्षेत्रमा समर्पित श्रेष्ठसँग नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा रहेर सेवा गरेको अनुभवसमेत छ । उनी यस अघि दर्जन बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान, पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।
यसैगरी, संस्थाद्वारा सञ्चालित शुभप्रभात काव्यमाला पुरस्कार गन्धर्व सारङ्गी पाठशाला हेमजालाई प्रदान गरिने भएको छ । संयोजक बलराम पौडेलको संयोजकत्वमा सोमनाथ गौतम र डिल्लीराम पौडेल सदस्य रहेको प्रतिभा चयन समितिको सिफारिसलाई संस्थाको बैठकले अनुमोदन गरेको हो ।
प्रतिष्ठानले मासिक रूपमा सञ्चालन गर्ने शुभप्रभात काव्यमाला र प्रतिष्ठानका कार्यक्रममा सारङ्गी धुनसहितको गायनले प्रतिष्ठानका गतिविधि सफल पार्न पु¥याएको योगदानको कदर गर्दै सम्मानित गर्न लागेको जनाइएको छ । पाठशालाका बालबालिका सम्बरबहादुर गायकद्वारा प्रशिक्षित हुँदै आएका छन् ।

प्रतिष्ठानले संस्थाको अक्षयकोषका लागि स्वेच्छिक सहयोग प्रदान गरेका दाताको रकमलाई एकीकृत पारी २०८१ सालमा हेमजा साहित्य राष्ट्रिय पुरस्कार कोष स्थापना गरेको हो । यसैगरी, संस्थाको मासिक रचनावाचन कार्यक्रमलाई प्रभावकारी बनाउन तत्कालीन अध्यक्ष बलराम पौडेलको पहलमा साहित्यकार डा. पुष्पा के.सी. भण्डारी र असफल गौतमको सहयोगमा शुभप्रभात बालसाहित्य कोष स्थापना गरिएको हो ।
पहिलो पटक अर्पण गर्न लागिएका दुवै पुरस्कार संस्था स्थापना दिवस यही साउन ८ गतेका दिन एक समारोहबीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए ।
