१०२ औं जनकविकेशरी जन्मजयन्तीमा अधिकारी र भैरव साँस्कृतिक समिति पुरस्कृत
जनकविकेशरी धर्मराज थापाको १०२ औं जन्मजयन्तीमा जनकविकेशरी धर्मराज–सावित्री थापा लोकसंस्कृति–साहित्य पुरस्कारबाट पुतलीबजार-१०, राङखोला, स्याङ्जाका अग्रज साहित्यकार तथा संस्कृतिकर्मी विश्वप्रेम अधिकारी र जनकविकेशरी धर्मराज–सावित्री थापा लोकगीत–सङ्गीत पुरस्कारबाट श्री भैरव सांस्कृतिक संरक्षण समिति, पोखरा पुरस्कृत भएका छन् ।
साहित्यकार अधिकारी र समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गलाई प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने, प्रतिभा चयन समितिका संयोजक कृष्णप्रसाद बास्तोला, प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले नगद, दोसल्ला, सम्मानपत्रसहित सम्मान अर्पण गरे । राष्ट्रियस्तरका दुवै पुरस्कारको राशि नगद ५०-५० हजार रुपैयाँ रहेको छ ।
समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले जनकविकेशरी धर्मराज थापाले नेपाली लोकसंगीतमा पुर्याएको योगदान अविष्मरणीय रहेको बताए । प्रमुख अतिथि भट्टले लोकगीतमै नेपालीपन देख्नने थापाले लोकसाहित्य, संस्कृति एवं लोकगीत संगीत विधामा थापाले उल्लेखनीय योगदान पुर्याएको स्मरण गरे ।
उनले थपे, ‘नेपाली लोकगीतको ढुकढुकी, माटोको सुगन्ध बोकेका कालजयी सर्जक थापा नेपाली गाउँबेसी, उकाली–ओराली र पाखा–पखेराका भाकाहरूलाई सङ्कलन गरी तिनलाई राष्ट्रिय पहिचान दिने एक संवाहक हुनुहुन्थ्यो । उहाँले गाउँ–गाउँ पुगेर हराउन लागेका लोक धुन र भाकाहरू संकलन गर्नुभयो । उहाँका सिर्जनामा देशप्रेम, प्राकृतिक सौन्दर्य र नेपाली समाजको वास्तविक तस्वीर झल्केकाले आज पनि नेपाली मनमस्तिष्कमा जीवन्त छन् ।’
नेपाली हुनुमा गर्व गर्ने र नेपाली माटोलाई माया गर्ने हरेक पुस्ताका लागि धर्मराज थापाका सिर्जनाहरू मार्गदर्शक रहेको प्रदेश प्रमुख भट्टको भनाइ थियो । ‘आजको यो आधुनिक र पश्चिमा संस्कृतिले प्रभाव पार्दै गएको समयमा धर्मराज थापाजस्ता महान् साधकको योगदानलाई स्मरण गर्नु बढी सान्दर्भिक हुन्छ ।’ उनले भने ।
हाम्रो मौलिक लोककला र संस्कृति नै हाम्रो पहिचान रहेको बताउँदै थपे – ‘हामीले केवल उहाँका गीत गाएर वा उहाँको सम्झनामा कार्यक्रम आयोजना गरेर मात्र उहाँप्रति सम्मान व्यक्त गरेको ठहरिँदैन । उहाँले देखाउनु भएको सांस्कृतिक संरक्षणको अभियानलाई निरन्तरता दिनु, लोकसाहित्यको अनुसन्धानलाई प्रोत्साहन गर्नु, युवा पुस्तालाई लोकसंस्कृतिसँग जोड्नु तथा मौलिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’ कुनै पनि राष्ट्रको वास्तविक पहिचान त्यसको भाषा, साहित्य, संस्कृति र लोकजीवनमा सुरक्षित रहेको हुन्छ भन्दै प्रदेश प्रमुख भट्टले ती सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने स्रष्टाहरू राष्ट्रका अमूल्य सम्पत्ति रहेकाले यस्ता कार्यक्रम नयाँ पुस्तालाई संस्कृति र प्रकृतिसँग जोड्ने सेतुका रूपमा रहने बताए ।
गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेले प्रतिष्ठानले स्तुत्य कार्य गरेको बताउँदै गण्डकी प्रज्ञा-प्रतिष्ठान ज्ञान उत्पादन गर्ने संस्था भएकाले यस्ता प्राज्ञिक कर्मको प्रोत्साहनमा निरन्तर लाग्ने बताए ।
लोकसंस्कृति–साहित्य पुरस्कारबाट पुरस्कृत विश्वप्रेम अधिकारीले हिजो साधनामा लाग्दा यो सम्मान पुरस्कार पाउला भन्ने कुनै अपेक्षा भएको बताए । ५० को दशकदेखि लोकसंस्कृतिको खोजीमा लाग्दा लोकसंस्कृति सन्दर्भमा धर्मराज थापाको क्षेत्रकार्यबाट निकै प्रभावित भएको धारणा राखे ।
लोकगीत-लोकसंगीत पुरस्कारबाट पुरस्कृत भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङ्गले २५० वर्ष पुरानो परम्परालाई जीवन्त राख्न पुर्याएको योगदानको कदर गरेको भन्दै प्रतिष्ठानको कार्यप्रति कृतज्ञता व्यक्त गरे । साथै, उनले जनकविकेशरी धर्मराज थापा लोकसंस्कृतिका सगरमाथा रहेको बताउँदै एकता र भाइचाराका उत्प्रेरकका रूपमा स्मरण गरे ।
प्रा.डा. जगन्नाथ रेग्मीले जनकविकेशरी धर्मराज लोकसंस्कृति साहित्य पुरस्कारबाट पुरस्कृत विशिष्ट साधक विश्वप्रेम अधिकारीलाई लोकसाहित्यका क्षेत्रमा केही गरौँ भन्ने अभिलाषाले विना लोभ निरन्तर साधनामा लाग्ने प्रतिभाका रूपमा चिनाए ।
अनुसन्धानदाता लक्ष्मण श्रेष्ठले भैरव नृत्य र भैरव सांस्कृतिक संरक्षण समितिको परिचय राख्दै भैरव परम्पराको ऐतिहासिकता बुझ्न सिन्धुघाटी सभ्यतासम्म पुग्नुपर्ने बताए । उनले १० औं शताब्दीमा मात्र भैरवको मूर्त्ति फेला परेको बताउँदै यो अमूर्त सम्पदाको संरक्षण आजको आवश्यकता भएको औल्याए ।
प्रतिभा चयन समितिका संयोजक अग्रज पत्रकार तथा साहित्यकार कृष्णप्रसाद बास्तोलाले २०५२ सालमा स्थापना भएको गुठी पछिल्लो समय प्रतिष्ठानमा रूपान्तरण भएर दुई दर्जन ज्यादा स्रष्टा साधक पुरस्कृत भइसकेको जानकारी गराउँदै यसपटक शिखर प्रतिभाका नाममा स्थापना भएको पुरस्कारले सोही मार्गमा हिँडिरहेका प्रतिभा र संस्थालाई पुरस्कृत गर्न लागिएको जानकारी गराए । बास्तोलाको संयोजकत्वमा असफल गौतम र कुञ्जराज थापा सदस्य रहेको समितिको सिफारिसमा उक्त प्रतिभालाई पुरस्कृत गरिएको हो ।
प्राध्यापक कुञ्जराज थापाले कविकेशरीले दिएको धारणा संरक्षणको जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व पूरा गर्नका लागि क्रियाशील रहेको बताउँदै नेपालको संस्कृतिले स्रष्टालाई कसरी बचाएको छ भन्ने यथार्थ चित्रण यस्ता कार्यक्रमबाट प्रष्ट हुने बताए ।
प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन साहित्यकार असफल गौतमले गरेका थिए भने साहित्यकार अम्बिकाप्रसाद भट्टराईले कविताका माध्यमबाट कविकेशरीको स्मरण गरेका थिए । कार्यक्रममा भैरव सांस्कृतिक संरक्षण समितिका कलाकारहरूले धौलाबाट कार्यक्रमको शुभारम्भ तथा पुरस्कृत प्रतिभाको बाजागाजासहित मंगल कामना गरेका थिए ।
Facebook Comments


