MONDAY OCT 13, 2025

विशेष टिप्पणी : ‘केपीको कोतपर्व’

असफल गौतम |

हाम्रो पुस्ताले इतिहासमा निरंकुश करार गरिएको राज्य व्यवस्थाको कोतपर्वको कथा पढेर आएको थियो । तर अबका पुस्तालाई त्यो व्यवस्थाको इतिहास सुनाउनै नपर्ने भएको छ । किनकि २०८२ भदौ २३ गते वर्तमान लोकतान्त्रिक व्यवस्थाको एउटा सनकी शासकको कोतपर्व हामीले प्रत्यक्ष हेर्नुपर्ने बाध्यात्मक अवस्था आइलाग्यो ।

राजाको शासन व्यवस्था निरंकुश भनेर अपव्याख्या गर्दै उक्त व्यवस्था हटाएर आजको अवस्था निर्माणका लागि भएको ०६२/६३ को जनआन्दोलन १९ दिनसम्म चल्यो । १९ दिनसम्मको आन्दोलन चल्दा पनि एकै दिनमा यति ठूलो संख्यामा सर्वसाधारण जनताले सहादत भएको अवस्था थिएन । जहाँ सरकारविरोधी समूह, नागरिक समाज, राजनीतिक दलले आन्दोलनको नेतृत्व गर्दा पनि भदौ २३ को जस्तो बर्बर अवस्था त्यो बेलाका शासकले देखाएनन् । जुन केपी ओली नेतृत्वको सरकारले अहिले देखाइरहेको छ । यी पंक्ति लेख्दासम्म जेनजीको आन्दोलनमा सरकारको गालीले २३ जना मारिएका छन् ।

(आजको नयाँपत्रिका दैनिक)

हिजोका नागरिक आन्दोलन, संयुक्त आन्दोलन तथा जनआन्दोलनमासमेत यो हदको क्रुरता नभएका बेला युवाहरूको आन्दोलनमा यो बर्बर दमनको हर्कत गर्ने जनताको सरकारको मस्तिष्कमा के भरिएको छ ? केही महिना पहिले २०८१ चैत १५ मा राजावादीहरूले प्रदर्शनलाई उग्र बनाए भनेर गृहप्रशासनले जुन नरसंहार मच्चाएको थियो, त्यो भन्दा ठूलो नरसंहार ओली नेतृत्वको राज्यले पुनः गरिरहेको छ ।

आन्दोलन नै आन्दोलन भइरहेको देश नेपालमा उदाएको नयाँ पुस्ता जेनजीले आजसम्म आफ्नो जीवनकालमा आफ्नै नेतृत्वमा ठूलो परिवर्तनकारी आन्दोलनको सपना देखेका थिएनन् । जब सरकारले २६ सामाजिक सञ्जाल बन्द गर्यो तब उनीहरूले भाइवर र टिकटकमा आफ्ना अनुभूति र आक्रोश पोखे । भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध सडकमा उत्रन आह्वान गरे, त्यो कुनै अपराध थिएन । यसैले सामान्य समझ भएको व्यक्तिसमेत त्यो हदसम्मको कठोरतामा पुग्न नसक्ने अवस्थामा केपी नेतृत्वको राज्यसत्ता यस्तो क्रुर र हिंस्रक मानसिकता बोकेर नरसंहारमा निस्कनु भनेको ‘केपीको कोतपर्व’ नै हो । यस्तै, विद्यार्थी अधिकारका लागि नेतृत्व गरेका छौँ भन्ने विभिन्न भातृसंगठनका खुरहरूले गरेको आन्दोलन विद्यार्थीका लागि नरहेर तानाशाहको जुत्ता पालिस भएको भदौ २३ गतेले प्रष्ट पारिदिएको छ ।

(आजको गोरखापत्र दैनिक)

एकैस्थलमा, एकै दिनमा, दुई घण्टाको अवधिमा दोस्रो जनआन्दोलन भन्दा ज्यादाले सहादत प्राप्त गरिरहेका छन् । जुन आन्दोलन व्यवस्था बदल्न भन्दा पनि भ्रष्टाचार नियन्त्रणको माग र सामाजिक सञ्जालमाथि राज्यको नियन्त्रण विरुद्ध थियो । स्कुलको पोशाकमा आएका विद्यार्थी भन्दा संसद् भवन ठूलो देख्ने राज्यसत्ता मानसिक रोगको सिकारबाट गुर्जेको हुनुपर्छ । किनकि जनताको करले बनाएको एउटा भवन जोगाउन यो हदसम्मको नरसंहार कोपीको कोतपर्व बाहेक अरू केही हुन सक्दैन ।

राज्यको बागडोर समात्नेको झण्डावाला सवारीले विद्यार्थी ढलाउँदा ‘पार्टीले उपचार गर्छ’ भनेर टोले गुण्डाका जस्ता अभिव्यक्तिमा रमाउँछ वर्तमान सरकार । किनभने सन्तान शोकको पीडा बाँझाहरूलाई अनुभूत हुँदैन । त्यसैले आफ्नो बर्बरता लुकाउन घुसपैठको अभिव्यक्ति दिएर सत्ताले जे हर्कत देखाइरहेको छ, त्यो निन्दनीय छ । माफी, क्षतिपूर्ति छानविन समिति घोषणाको भरमा देशको नेतृत्व सम्हाल्ने पुस्ताले राज्यलाई क्षमा कुनै हालतमा पनि दिन सक्दैन ।

बगैँचाको फूल जसरी संरक्षण गरिएका सन्तानमाथि राज्यले आतङ्ककारी जसरी नरसंहार मञ्चाएको छ । यो राज्यसत्ताको वर्तमान संरक्षक केपी ओलीको कोतपर्व नै हो । किनभने, भीड नियन्त्रणका अनेक तरिका हुन्छन् । गोली चलाउनै पर्ने अवस्थामा घुँडामुनी प्लाष्टिकको गोली हान्न सकिन्छ । तर भ्रष्टाचारको विरोध गरिरहेका विद्यार्थीका टाउका-टाउका र छातीमा ताकेर गोली हान्नुपर्ने, अस्पतालमा पुगेर बिरामीलाई निकाल्नुपर्ने सनकी शासकको सनक नभएर के हुन सक्छ ?

एउटा सनकी शासकले मञ्चाएको कोतपर्वका कारण सहादत प्राप्त हुने विद्यार्थी र युवाको संख्या थपिँदै छ । जनताको आँसु, रगत र पसिनाले बनाइएका राज्यका संरचना नष्ट हुने क्रम बढ्दो छ । जनताको राप र ताप बढ्दा २४ घण्टामा देशका भ्रष्ट, दलाल र तस्कर हायलकायल हुन्छन् । जनताले चाहे भने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले जनतामाथि गरिरहेको ज्यादती निष्तेज गर्न सक्छन् भन्ने प्रत्यक्ष प्रमाण जेनजी आन्दोलनले देखाएको छ ।

हरेक १० वर्षमा देशमा परिवर्तनका झिल्का देखिइरहेका छन् । २०५२, २०६२, २०७२ हुँदै व्यवस्था परिवर्तनका लागि राज्यमा रगत बग्दै आइरहेको छ । २०८२ को पूर्व सन्ध्यामा राज्य आतङ्कले गर्दा बगेको जेनजीको रगतले आक्रोशित जनताको मनभित्रको आगो कुनै हालत पनि निभाउन सक्दैन । यसैले, अब सरकारले तत्काल राजीनामा दिएर संसद विघटन गरी सेनालाई राज्य संरक्षणको जिम्मा दिनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारीसहितको नयाँ व्यवस्था आजको आवश्यकता भइसकेको छ ।

Facebook Comments