जेनजीको गुनासो : ‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’

२३ भदौ, पोखरा ।
‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा; रोलेक्स घडी नाडीमा’,
‘दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने’,
‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’,
‘भ्रस्ट नेता होसियार’
यी नारा कुनै राजनीतिसम्बद्ध पार्टीका होइनन्, हुन् त पोखरा सभागृहबाट विरोध प्रदर्शन शुरु गरेका नयाँ पुस्ता (जेनजी) का आवाज हुन् ।जेनजीको आवाज भ्रष्ट नेताले सोझा जनतालाई दुःख दिएर रमाउँदाको चरम असन्तुष्टिको आवाज हो ।
माथि उल्लेख व्यहोरालगायतका प्लेकार्ड र व्यानर बोकेर जेनजीले सामाजिक सञ्जाल नभएर भ्रष्टाचार बन्द गराउनुपर्नेमा जोड दिएका छन् ।
बिहान १० बजेदेखि सभागृहमा भेला भएर प्रदर्शन थालेका उनीहरूको समूह बढ्दै गएर चिप्लेढुङ्गातर्फ अगाडि बढिरहेको छ । उनीहरूले नेपालका विभिन्न राजनीतिक दलका नेता तथा देशका प्रधानमन्त्रीसमेतका नाम लिएरसमेत आक्रोश पोखिरहेका छन् ।
सिमसिम पानीको प्रवाहसमेत नगरी उनीहरू रेनकोट लगाएर नेपालको झण्डा बोकेर प्रदर्शनमा रहेका छन् । जनताले तिरेको करमा नेता र नेताका छोराछोरीले ऐयासी जीवनमा बितेकोमा आक्रोश पोखिरहेका छन् ।
उनीहरूको विरोध प्रदर्शनमा पोखराका विभिन्न ठाउँबाट सहभागी हुनका लागि जेनजीहरू आइरहेका छन् । प्रशासनले भने प्रदर्शन भड्किन नदिन ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको देखिन्छ ।
उता काठमाडौँमा भएको जेनजीको प्रदर्शनस्थलमा भने काठमाडौँ महानगरले घुम्ती शौचालय राखिदिएको छ । सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका जेनजीको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।
भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्द विरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका जेनजीको प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलेसमेत समर्थन गरेका छन् । राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएर राष्ट्रभक्तिका गीत गाउँदै हिँडेका जेनजी कतिपय स्कुल–कलेजको ड्रेसमासमेत देखिएका छन् ।
उनीहरूले ‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
जेनजीले काठमाडौं, पोखरासहित वीरगञ्ज, बुटवल, रुपन्देही, दाङ, झापालगायतका जिल्लामा पनि प्रदर्शन गरिरहेका छन् ।