‘अवकाश’ मुक्तक र ‘छालहरू ओढेर’ गजल कृतिसहित आइन् सावित्री गिरी सुकु
लोकदोहोरी गायिका तथा साहित्यकार सावित्री गिरी सुकुका दुई कृति शनिवार एक समारोहका बीच लोकार्पण गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीद्वारा पोखरामा आयोजित लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले ‘अवकाश’ मुक्तकसङ्ग्रह र ‘छालहरू ओढेर’ गजलसङ्ग्रह लोकार्पण गरे ।
प्रमुख अतिथि श्रेष्ठले मुक्तक तथा गजल विधाका विविध आयामबारे प्रकाश पार्दै गिरीको चतुष्पदीय संरचनाको मुक्तक साधना र समसामयिक विषयको साधना प्रशंसायोग्य रहेको बताए ।

वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले सुकुको गायनबाट प्रभावित भएको स्मरण गर्दै पछिल्लो समय देखिएको साहित्यिक साधना प्रशंसायोग्य रहेको धारणा राखिन् ।
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले पोखरा साहित्य लेखनका लागि उर्वर भूमि रहेको बताउँदै गिरीलाई जहाँ रहे तापनि कलमलाई विश्राम नदिन सुझाए ।
बिम्बकवि रमेश श्रेष्ठले गिरीका कृतिलाई मनको कुनामा पोको पारिएको मायाको रूमालका उपमा चिनाउँदै कलमले अवकाश नलिओस् भन्ने शुभेच्छा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सांस्कृतिक विभागका सल्लाहकार मदनराज थापाले प्रकृतिको सुन्दर भूमि पोखरामा आयोजित यस्ता प्राज्ञिक कर्मले स्रष्टालाई अगाडि बढ्न प्रोत्साहित गर्ने बताउँदै सुकुलाई बहुआयामिक प्रतिभाका रूपमा चित्रण गरे ।
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले गिरीको सिर्जनशीलता मौलाउँदै जाओस् भन्ने शुभेच्छा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष देवेन्द्र के.सी.ले सावित्री गिरीमा केही गरिरहुँ भन्ने सिर्जनशील क्षमताको उपज नै दुई कृतिको एकै साथ लोकार्पण रहेको बताए ।
गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले स्रष्टाहरू लेखनमा मात्र नभएर सिर्जनालाई परिमार्जनको अभ्यासमा पनि लाग्न पर्नेमा जोड दिए।
नेपाली लेखक संघ गण्डकीका अध्यक्ष दीपक समीपले गिरीले विदेश र स्वदेश गर्दागर्दै एकैसाथ दुई कृति लिएर आएको देख्दा खुसी लागेको धारणा राखे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले गिरीको साहित्य यात्रा लोकदोहोरी गायनको पृष्ठभूमिबाट अगाडि बढेकाले उनका सिर्जना गायनका हिसाबले पनि सबल रहेको बताए ।
पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष लक्ष्मण थापाले गिरीको गजल तथा मुक्तक लेखन समानरूपले अगाडि बढेको बताए ।
गुरुङ साहित्यिक मञ्चकी संस्थापक अध्यक्ष गौरी तमूले महिलालाई लेखकका लागि आफ्नै खाले व्यवहारिक चुनौती रहेको अवस्थामा सावित्रीले प्रवासमा रहेर पनि दुई कृति प्रकाशन गर्नु निरन्तर साधनाको प्रतिफल भएको बताइन् ।
अनेसासका सचिव कल्याण पन्तले नेपाली साहित्यको श्रीवृद्धिमा पोखरामा रहेर अनेसासले यस्तै प्रकृतिका साहित्यिक गतिविधिको अनुष्ठान गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा साहित्यकारहरू सरस्वती श्रेष्ठ सरु, लक्ष्मी थापा, तेजबहादुर गुरुङ, आकाश अधिकारी, चन्द्रावती वाग्ले, त्रुपक, बिर्सना बस्नेत, दिलकुमारी पौडेल, निकेश गिरी, गीता अधिकारी जुन, शुभ शर्मा, शिव त्रिपाठी, पद्मा रिजाल, रमा खतिवडा, गायत्री पराजुली, सन्तोष तिमिल्सिना, जमुना कायस्थ, सीता बराल भण्डारीलगायतले कृति भित्रका गजल तथा मुक्तकवाचन गरे ।
