डा. सुवेदीको गण्डकीदेखि लोहितसम्म लोकार्पण
पेशाले विशिष्ट श्रेणीको चिकित्सक रहेका डा. कालु शर्मा सुवेदीको पछिल्लो अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘गण्डकीदेखि लोहितसम्म’ एक समारोहका बीच लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृति लोकार्पण गर्दै सुवेदीका हालसम्मका कृतिमध्ये उत्कृष्ट कृति रहेको औल्याए । उनले नेपाली साहित्यमा संस्मरणलाई निबन्ध तथा संस्मरण जसरी चिनाउन खोजे तापनि लेखकले अभिव्यक्त गर्ने सन्देश, सत्य र तथ्य एउटै हुने धारणा राखे ।
मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार चन्द्रप्रकाश बानियाँले पछिल्लो समय पठन संस्कार हराएकोमा चिन्ता व्यक्त गर्दै हरेक लेखकले अर्का लेखकको कृति अध्ययन गर्न आवश्यक रहेको बताए ।
समालोचक असफल गौतमले कालु शर्मा सुवेदीले आफूसँग रहेका ऐतिहासिक सत्य र तथ्यको उजागर गरेर कृति प्रकाशित नगरेका भए उनलाई तिनै तथ्यको श्राप लाग्ने जिकिर गरे । उनले सुवेदी कुशल चिकित्सकमात्र नभएर एक सफल लेखक बन्ने सामथ्र्यका बहुआयामिक व्यक्तित्वसमेत रहेको बताए ।

लेखक सुवेदीले नेपालीहरू भोलिका पुस्ताका लागि हिजो गण्डकी तरेर लोहितसम्म नेपालीहरू किन र केका लागि गए भन्ने यथार्थलाई जीवन्त राख्न कृति लेखेको बताए ।
सोही समारोहबीच साहित्यकार शोभाकान्त गौडेलको ‘कालीगण्डकीका किनार’ निबन्धको परिचर्चासमेत गरिएको थियो । डा. कृष्णराज अधिकारीले कृतिको परिचर्चा गर्दै कालीगण्डकी सभ्यता, संस्कार र संस्कृतिको समिश्रण गौडेलको कृतिको सार भएको बताए ।
निबन्धकार गौडेलले पूर्व कर्मचारी सेवा परिषद्को एक सक्रिय सदस्यका नाताले कृतिको पोखरामा परिचर्चा कार्यक्रम आयोजना गरिदिएकामा आयोजकप्रति आभार व्यक्त गरे ।
समारोहमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक अध्यक्ष दुर्गाबहादुर शाह बाबा, गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, साहित्यकार मेघनाथ कुँवरलगायतले बोलेका थिए ।
पूर्व कर्मचारी सेवा परिषद् गण्डकीका अध्यक्ष गिरधारी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सूर्य बरालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव नगेन्द्रराज पौडेलले गरेका थिए ।
