सिटीवानको चौँथो खुला तीजगीत प्रतियोगितामा देवीस्थान भजन महिला समूह प्रथम

८ भदौ, पोखरा । सिटीवान टेलिभिजनले आयोजना गरेको चौथो संस्करणको तीजगीत प्रतियोगिता २०८२ मा पोखरा २५ हेम्जाको देवीस्थान भजन महिला समूह प्रथम भएको छ ।
प्रतियोगितामा सहभागी ४० समूहलाई पछि पार्दै देवीस्थानले नगद ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर र पुरस्कार हात पार्न सफल भएको हो ।
प्रतियोगितामा पोखरा २५ को कमल जोशी आमा समूह द्वितीय, बराह माध्यमिक विद्यालय तृतीय र हेम्जा आमा समूहले सान्त्वना स्थान प्राप्त गरे । उनीहरूले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर हात पारे ।
यसैगरी विधागततर्फ उत्कृष्ट नृत्यतर्फको पुरस्कार बालोदय सेकेण्डरी स्कुल, उत्कृष्ट भेषभुषाको पुरस्कार महिला क्लब पोखरा ७ र उत्कृष्ट शब्दतर्फको पुरस्कार नेशनल इन्भेन्टिभ स्कुलको हातमा पर्यो । प्रोत्साहन पुरस्कार अम्मरसिंह माध्यमिक विद्यालयले जित्यो । विधागत र प्रोत्साहनतर्फको विजेताले नगद पाँच हजारसहित गिफ्ट ह्याम्पर हात पारेका हुन् ।
विजेतालाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, कार्यक्रम संयोजक वरिष्ठ सौन्दर्यविद् चिनु गुरुङ, निर्देशक हरिराज पन्तलगायतले पुरस्कार वितरण गरे ।
समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले तीजगीत प्रतियोगिताको आयोजनाले संस्कृतिको संरक्षण गर्दै पुस्तान्तरणमा सघाउने विश्वास व्यक्त गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले तीजलाई महिला एकताको दिनका रूपमा लिने गरिएको बताइन् ।
गण्डकी प्रदेश उद्योग परिसंघका अध्यक्ष धर्मराज वर्तौलाले गण्डकी प्रदेशको समृद्धिका लागि सरकारले पहल गर्नुपर्ने बताए । उनले यहाँ बाँझो रहेका खेतीयोग्य जमिनको पूर्ण सदुप्रयोग गरेर उत्पादन बढाउन सकेमा यहाँका जनताको आयमा वृद्धि हुने र अन्य प्रदेशको तुलनामा गण्डकीका जनताको आयस्तर राम्रो देखिए पनि यसमा सन्तुष्ट हुने अवस्था नभएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रम संयोजक चिनु गुरुङले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै तीजपर्वको महत्त्व नयाँ पुस्तामाझ पुर्याउन कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।
टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतिको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, टेलिभिजनका प्रबन्धनिर्देशक अनिशा श्रेष्ठलगायतले तीजपर्वसहित तीजगीतको महत्त्व बारेमा बोलेका थिए ।
प्रतियोगिताको निर्णायक संयोजकमा शङ्कर विरही गुरुङ, सदस्यमा अम्बिका भण्डारी र जुना क्षत्री रहेका थिए ।
कार्यक्रममा सहजीकरण टेलिभिजनका प्रबन्धनिर्देशक अनिशा श्रेष्ठ, सरला त्रिपाठी भण्डारी, रिमाशाही ठकुरी, आशा मगर, सीमा सुनारलगायतले गरेका थिए ।
तीजको बेला सिटीवानको सांस्कृतिक मेला, चौँथो खुला तीजगीत प्रतियोगिता–२०८२मा विभिन्न प्रकारका १५ स्टलसमेत रहेका थिए । प्रतियोगीताको टाइटल स्पोन्सरमा गरीमा विकास बैकं लिमिटेड रहेको थियो भने मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र उप–प्रायोजकमा न्यू लुक्स व्युटी प्रोडक्ट, हिमश्री फुड्सको रारा चाउचाउ तथा कर्माचार्यको क्रन्ची वाइफर रहेका थिए ।