गण्डकी प्रदेश पूर्व प्रमुखको अन्त्येष्ट आज, वर्तमान प्रदेश प्रमुखद्वारा शोक व्यक्त

गण्डकी प्रदेश पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा उनको आइतवार (आज) अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं। ४ मा जन्मेका गुरूङका परिवार बसाइँसराइँ गरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नंं। २६, दिव्यनगरमा बस्दै आएका थिए ।
पछिल्लो समय क्यान्सरसँग लडिरहेका गुरूङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमै शनिबार बिहान निधन भएको हो ।
२०७८ साउन १२ गते प्रदेश प्रमुखमा नियुक्त भएका गुरूङ २०८० फागुन २८ गते पदमुक्त भएका थिए ।
यसैबीच, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शोक सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गरेका छन् । ‘करिब ३२ महिना गण्डकी प्रदेशबासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी वहन गरेका कुशल एवं अनुभवी व्यक्तित्व गुरूङको निधनबाट ठूलो क्षति पुगेको मैले महसुस गरेको छु ।’ उनले भनेका छन् ।