TUESDAY MAY 26, 2026

बहाकोटमा ७६औँ क्रान्ति दिवस भव्य रूपमा सम्पन्न

स्याङ्जाको पुतलीबजार नगरपालिका–८, बहाकोटमा ७६औँ क्रान्ति दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ । स्थानीय वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले देशमा लोकतन्त्र स्थापना, जनअधिकार र परिवर्तनका लागि भएका ऐतिहासिक आन्दोलन तथा क्रान्तिको योगदानको स्मरण गर्दै सहिदहरूको योगदानको उच्च सम्मान गरेका थिए । उनले लोकतान्त्रिक मूल्य, सामाजिक एकता तथा विकास निर्माणमा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै समाजसेवी मोति प्रसाद आलेले विगतका संघर्ष र आन्दोलनका अनुभव सुनाउँदै नयाँ पुस्तालाई इतिहासबाट शिक्षा लिन आग्रह गरे । उनले लोकतन्त्र स्थापनाका लागि अग्रजहरूले गरेको संघर्षलाई सधैँ स्मरण गर्नुपर्ने बताए ।

यसैगरी, पुतलीबजार नगरपालिका वडा नं. ८ का अध्यक्ष इम बहादुर सेनले देशमा प्रजातन्त्र स्थापनाका लागि बहाकोट क्षेत्रबाट योगदान पु¥याउने महान योद्धाहरू होविर आले, दुत प्रसाद गुरुङ, ठान बहादुर सिंह, गौ कुमारी मल्ल, कोठे सार्की, रमण बहादुर हमाल, चित्र बहादुर खवास तथा उजिर सिंह शाही लगायतका व्यक्तित्वहरूको स्मरण तथा चर्चा गरेका थिए । उनले क्रान्ति दिवसले लोकतन्त्र, स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सबैलाई जिम्मेवार बन्न प्रेरणा दिएको बताए ।

समारोहमा श्री नु. बहाकोट माध्यमिक विद्यालयका विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस पुतलीबजार नगरपालिकाका नगर सभापति सुरज कुमार अधिकारी, वडा सदस्य टोलमाया थापा, देवबहादुर सिंह, प्रेम बहादुर खाँण, धिरज खाँण तथा नारायण शर्माले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही अवसरमा जेठ १४ गतेदेखि स्थानीय क्रान्ति दीप युवा क्लबले वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी समेत गराइएको थियो ।

Facebook Comments