युआरएल अब ग्रुपमा रूपान्तरण
बाह्र वर्षमा खोला फर्कन्छ यो गाउँघरमा सुन्दै आएको लोकोक्ति हो । यही उक्तिलाई स्मरण गराउने सन्दर्भ यतिबेला युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) सँग जोडिएको छ ।
पोखराको न्युरोडमा १३ वर्षअघि स्थापित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि अब युआरएल ग्रुपमा रूपान्तरण भएको छ । युआरएलको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रूपान्तरण गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ। समितिको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला निर्वाचित भएका छन् । यस्तै बोर्ड डाइरेक्टरमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा. कृष्णराज अधिकारी, डा. वसन्त पगेनी र पुष्पराज कोइराला रहेका छन् ।
सभाले युआरएल सञ्चालनको नयाँ कार्यविधि पारित गर्दै अब लेखा तथा खरिद उपसमिति, व्यापार प्रवर्धन उपसमिति र गुणस्तर नियन्त्रण उपसमिति निर्माण गर्ने भएको छ ।
युआरएल ग्रुपका अध्यक्ष पन्थले गण्डकीकै पहिलो रेफरेन्स ल्याब युआरएलले ग्रुपअन्तर्गत २१ शाखा र तीन ब्रान्ड नामसहित २४ स्थानबाट सेवा दिइरहेको छ र चाँडै कम्प्लिट डायग्नोस्टिक सेन्टर बनाउने बताए ।
प्रबन्ध निर्देशक कोइरालाले नयाँ प्रविधि, दक्ष जनशक्ति र सर्वसाधारणको आवश्यकताबमोजिमको सेवा प्रदान गरी युआरएलले अझ सशक्त तवरले सेवा दिने जानकारी दिए ।
०७२ सालबाट विभिन्न रोगका विशेषज्ञको सचेतनासहितको निशुल्क शिविर गर्दै आएको युआरएलले हालसम्म कास्की र आसपासमा जिल्लामा विभिन्न सामाजिक र स्वास्थ्य संस्थासँगको सहकार्यमा २ सय २४ वटा शिविरमार्फत् २ लाख ८० हजार लाभान्वित भएको संस्थाद्वारा जनाइएको छ ।
५१ शेयर सदस्य रहेको युआरएलले प्राविधिक र गैरप्राविधिक गरी १ सय ५० भन्दा बढी कर्मचारीलाई रोजगारी सिर्जनासमेत गर्न सफल भएको छ ।
