पोखरामा कफी नर्सरी तथा रोपणसम्बन्धी तालिम
पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजनामा कफी नर्सरी स्थापना, गुणस्तरीय बिरुवा उत्पादन तथा व्यवस्थापन र कफी रोपणसम्बन्धी दुई दिने प्राविधिक तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा कृषि व्यवसाय प्रवद्र्धन, प्रशिक्षण तथा स्रोत केन्द्र गण्डकी प्रदेश, पोखराका प्रमुख बासुदेव काफ्लेले नेपालमा कफी खेतीको उच्च सम्भावना रहेको उल्लेख गर्दै युवा पुस्तालाई यस क्षेत्रतर्फ आकर्षित भई स्वदेशमै रोजगारी सिर्जना गर्दै उद्यमशीलतामा अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले कफी खेतीलाई व्यावसायिक बनाउने, गुणस्तरीय बिरुवा उत्पादनमा जोड दिने तथा किसानहरूको सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।
तालिममा कृषि प्राविधिकहरू नगेन्द्र सुवेदी र सुविना आचार्यले सहजीकरण गरेका थिए । सहभागीहरूलाई व्यवसायिक कफी खेती योजना, कफीका जात, लगाउने स्थान, स्थान अनुसारको जातको सिफारिस, नर्सरी स्थापना र व्यवस्थापन, कफी रोपण, व्यवस्थापन, काँटछाँटलगायतका विषयमा प्रयोगात्मक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागीकातर्फबाट यशोदा अधिकारी (नुवाकोट) र पितम बहादुर सेन (स्याङ्जा)ले तालिमबाट प्राप्त ज्ञानले व्यवसायिक कफी खेतीमा थप आत्मविश्वास बढाएको बताएका थिए ।
तालिममा गण्डकी, वागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका ३० जना युवाको सहभागिता रहेको थियो ।




