FRIDAY APR 24, 2026

महेन्द्र माध्यमिक विद्यालयका प्रअ पौडेलको विदाइ

महेन्द्र माध्यमिक विद्यालय घार्मीका प्रधानाध्यापक बासुदेव पौडेलको आइतवार एक समारोहका बीच सम्मानसहित विदाइ गरिएको छ।
सो विद्यालयमा झण्डै ३५ वर्ष सेवा गरेका पौडेलले उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

२०४८ साल साउनमा अंग्रेजी शिक्षकका रूपमा प्रवेश गरेका पौडेल सोही वर्ष विद्यालयको प्रधानाध्यापकमा नियुक्त भई निरन्तर रूपमा ३५ वर्ष विद्यालयको शैक्षिक तथा भौतिक विकासमा लागेका थिए।

लामो समय विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व समालेका पौडेललाई विद्यालयसहित विद्यार्थीले विदाइ गर्दै उनको योगदानको स्मरण गरे ।

प्रअ पौडेललाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वैकुण्ठ पौडेल, विद्यालयका संस्थापक अध्यक्ष महेश्वर पौडेल, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष होमनाथ आचार्य, निमित्त प्रधानाध्यापक नन्दराज दाहालले संयुक्तरूपमा सम्मान गरे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले विद्यालय स्थापना र शैक्षिक गुणस्तर वृद्धीमा उहाँको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
संस्थापक अध्यक्ष महेश्वर पौडेलले विद्यालय स्थापनकालको स्मरण गर्दै प्रअ पौडेलको कार्यकुशलताले नै विद्यालय यस स्थानमा आइपुगेको धारणा राखे ।
निमित्त प्रधानाध्यापक दाहालले उनकै कार्यकालमा विद्यालयले शैक्षिक र भौतिक विकासमा फड्को मारेको बताउँदै आगामी दिनमा निरन्तर सुझाव र सल्लाह दिन आग्रह गरे ।
सम्मानित प्रअ वासुदेव पौडेलले विद्यालय र विद्यार्थीको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै विद्यालयमा नरहे पनि यहाँको समग्र विकासमा निरन्तर लाग्ने र बाँकी काम पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष होमनाथ आचार्य , शिक्षासेवी एवं पौडेलका दाजु कृष्णप्रसाद पौडेल, शिक्षक रत्ना विश्वकर्मा, समाजसेवी रमेश विश्वकर्मा, विद्यार्थी हिमानी पौडेललगायतले अवकाशपछिको जीवन पनि शैक्षिक र समाज सुधारको क्षेत्रमा लाग्न सुझाव दिए ।
प्रअ पौडेल कै कार्यकालमा विद्यालयले तत्कालिन प्रवेशिका परीक्षामा जिल्लाकै उत्कृष्ट विद्यालयकारूपमा सम्मानितसमेत भएको थियो भने शैक्षिक विकास र भौतिक निर्माणमा ठूलो उपलब्धि हासिल गरेको थियो ।

यसैबीच कक्षा ९ का विद्यार्थीले एसइइको तयारी गरिरहेका विद्यार्थीलाई पनि परीक्षा सफलताको शुभकामनासहित विदाइ गरेका थिए ।

Facebook Comments