FRIDAY APR 24, 2026

पोखरा महानगरमा आज शोक विदा

पोखरा महानगरपालिकाले आज चैत १ गते महानगरका सबै कार्यालय तथा मातहतका शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेको छ ।

महानगरले पोखराका पूर्व मेयर कृष्ण थापाको निधनमा उक्त शोक विदा घोषणा गरेको हो । साथै महानगरले तीन दिन महानगरका कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरिएको छ ।

थापा २०५४-०५९ सालसम्म तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर रहेका थिए । उनले पोखराको सडक विस्तार, शहरी पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै जापानको कोमागाने सहरसँग पोखराको भगिनी सम्बन्ध स्थापना गर्ने पहल पनि उनकै पहलमा सुरु भएको थियो।

सोही सम्बन्धअन्तर्गत पोखरा–६ लेकसाइडमा कोमागाने पार्क र पोखरा–१६ बाटुलेचौरमा कोमागाने अस्पताल निर्माण गरिएको थियो।  गण्डकी प्रदेश सभाका पूर्व सदस्यसमेत थापा  नेकपा (एमाले) का केन्द्रीय सदस्य ६६ वर्षीय थापाको बिहीबार कास्की क्षेत्र नम्बर–१ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका बेला अचानक हृदयघात भएको थियो।

तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिए तापनि  चिकित्सकले दिउँसो करिब ३ः४० बजे मृत घोषणा गरेका थिए । थापाका श्रीमती डिकी छिरिङ थापा र छोरा प्रतीक थापा रहेका छन् ।

Facebook Comments