पत्रकार सुमनलाई लक्ष्मी-हुम युवा पत्रकारिता पुरस्कार
३ मंसिर, पोखरा । पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद-हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।
पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औं वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार ग्रहणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताउँदै ‘पत्रकारिता केवल पेशा नभएर समाजको धड्कन सुन्ने कला भएको बताए । उनले थपे, ‘कहिले कठोर, कहिले कोमल, कहिले विवादास्पद तर सधैं नै सत्यतर्फ उन्मुख यस बाटोमा थुप्रै अवरोध, थुप्रै चुनौती आउँछन् तर यो सम्मानले मलाई भन्छ अझ दृढताका साथ अघि बढ्न प्रेरित गरेको छ ।’
फोनिजका संघिय सचिव एमबी आस्थाले पुरस्कारले पत्रकारिता क्षेत्र धारासायी बन्दै गइरहेको अवस्थामा पुरस्कारले हौसला प्रदान गर्ने बताए । ‘पत्रकारिताको बाटो कता जाने हो भन्नेमा अन्योलता छाइरहेको पछिल्लो अवस्थामा पत्रकारले कमल र क्यामेरा शसक्त रूपमा चलाउन पर्ने अवस्था आएका उनले सुनाए ।
पुरस्कारको अक्षयकोषदाता मेजर लक्ष्मीप्रसाद गुरुङले धेरै अक्षयकोष स्थापना गरिसकेको अवस्थामा पछिल्लो समय पत्रकारसँग जोडिन पाउँदा खुसी लागेको बताए । आगामी दिनमा अक्षयकोष वृद्धि गर्दै पुरस्कार राशी बढाउने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, फोनिजका संघिय सल्लाहकार शान्ति गुरुङलगायतले पुरस्कारदाता मेजर गुरुङ र सम्मानित व्याक्ति पत्रकार गुरुङको सत्कर्मको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
फोनिज गण्डकी र कास्कीका सल्लाहकार हुमबहादुर गुरुङले सम्मानित व्यक्ति परिचय गराउँदै २०६८ सालमा रेडियो सराङकोटबाट कार्यक्रम प्रस्तोता र हिमचुली एफएमबाट प्राविधिकका रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेका गुरुङ एफएम रेडियो, अनलाइन हुँदै पत्रपत्रिकामा सक्रिय रहेर पत्रकारिता गर्दै आएको जानकारी दिए । हाल उनी समाधान दैनिक, एबिसी टिभी र राष्ट्रिय समाचार समिति (रासस) सँग आबद्ध छन् ।
नेपाल पत्रकार महासंघ कास्की सह–सचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी उपाध्यक्ष, नेपाल प्रेस युनियन र नेपाल फोटो पत्रकार संघ कास्कीमा सचिव पदमा कार्यरत उनी युवा तथा खेलकुद मन्त्रालयबाट खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट पनि सम्मानित भइसकेका छन् ।
