MONDAY FEB 09, 2026

लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई

पोखरा, ३० असोज। पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीसहित सम्पूर्ण पदाधिकारी र कार्यसमितिलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ।

लेखनाथ उद्योग वाणिज्य संघको १५औं महाधिवेशन भदौ २० र २१ गते सम्पन्न भएको थियो, जसबाट जानुका पराजुली अध्यक्षमा निर्वाचित भएकी थिइन्।

बिहीबार आयोजित स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नेपालको निजी क्षेत्र अहिले आधुनिक इतिहासकै गम्भीर संकटको सामना गरिरहेको बताउनुभयो।

उहाँले हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमण, आगजनी र लुटपाटले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै भने,

“निजी क्षेत्र युद्धका सिपाही जस्तै हो, यसले पिठ्युँ फर्काएर भाग्न सक्दैन। अपराधीलाई कानूनी कठघरामा ल्याई, क्षतिपूर्ति र सुरक्षाको ग्यारेन्टी गरेर व्यवसाय पुनः अघि बढाउनु पर्ने बेला आएको छ।”

कार्कीले संघीय राजधानीपछि दोस्रो बढी क्षति पोखराले बेहोरेको बताउँदै, पीडित व्यवसायीको न्याय र मनोबल पुनःस्थापनाका लागि पोखरा उद्योग वाणिज्य संघले अग्रसर भूमिका खेलिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी नवनिर्वाचित अध्यक्ष जानुका पराजुलीले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो।
उहाँले थपिन्,

“हामी एउटै महानगरभित्र रहेका दुई उद्योग वाणिज्य संघहरू हौँ। बृहत्तर पोखराको आर्थिक र सामाजिक विकासका लागि हामी एकै ठाउँमा छौँ।”

पराजुलीले पुँडीटार (पोखरा–३३ र शुक्लागण्डकी क्षेत्रमा पर्ने) नयाँ औद्योगिक क्षेत्रको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारसमक्ष माग गर्नुभयो।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले आगामी चाडपर्वको शुभकामना दिंदै नवनिर्वाचित लेखनाथ उद्योग वाणिज्य संघको टोलीलाई बधाइ ज्ञापन गर्नुभयो।

Facebook Comments