FRIDAY APR 17, 2026

अपाङ्गता भएकाहरूलाई सक्षम बनाउन जरूरी : प्रदेश प्रमुख भट्ट

२१ भदौ, पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउन जरुरी रहेको बताएका छन् ।

नेपाल दृष्टिविहीन कल्याण संघको शनिबार पोखरामा सम्पन्न ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजमा समतामूलक समाजको हिस्सेदार रहेको धारणा राखे ।  उनले भने, ‘समाजमा अपांगता भएका व्यक्तिप्रति गरिने व्यवहार सम्मानजनक नभएको तीतो यथार्थ हामीसामु छ ।’

२०३८ सालमा नेपाल अन्धा कल्याण केन्द्र स्थापना भएकोमा नाम परिवर्तनसँगै २०४२ सालदेखि दृष्टिविहीन कल्याण संघ गैरनाफामुखी संस्थाका रूपमा अघि बढेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, दृष्टिविहीन अभिभावक संघ नेपाल जस्ता एकै उद्देश्यका साथ स्थापित संस्थाहरू एक आपसमा सहकार्य गरी अघि बढ्न पनि प्रदेश प्रमुख भट्टले सुझाव दिए ।

संघले कास्कीसँगै विभिन्न जिल्लामा शाखा स्थापना गरेको जनाएको छ ।

नेत्र परीक्षण, आँखा शल्यक्रिया, वृक्षारोपण, सरसफाइ, छात्रवृत्ति तथा शैक्षिक सामाग्री प्रदान, ब्रेललिपी तालिम, सदस्यलाई लघुवित्त व्यावसायिक योजनासम्बन्धी क्षमता अभिवृद्धि एवं सीपमूलक तालिमको आयोजना, ब्रेललिपी पाठ्यपुस्तक उत्पादन तथा वितरण, दृष्टिविहीन विद्यार्थीको प्रतिभा प्रस्फुटन, पुरस्कार स्थापना र वितरणलगायतका कार्यक्रम संस्थाले गर्दै आएको संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गले जानकारी दिए ।

Facebook Comments