‘जहाँ सरकार, त्यहाँ भ्रष्टाचार’ : पछिल्लो नमूना पोखरा दीपको लिची बारी

असफल गौतम/ आफूँ भ्रष्टाचार नगर्ने, गर्न नदिने र भ्रष्टाचार गर्नेको मुख नहेर्ने भनिएको नेकपा एमाले नामको (क्रान्तिकारी काङ्ग्रेस) र लोकतान्त्रिक काङ्ग्रेस गठबन्धन यतिबेला ‘जहाँ सरकार, त्यहाँ भ्रष्टाचार’ भन्ने उद्घोषलाई सार्थक पार्ने ‘रोम-कम’ (रोमान्टिक-कमेडी) सरकार जस्तो देखिएको छ ।
केन्द्रदेखि स्थानीय तहसम्म शृङ्खलाबद्ध त्यस्तै शैलीका गतिविधिमा क्रियाशील रोम-कम सरकारको पछिल्लो घटना सबैको चासोको विषय भएर आएको छ, पोखरा दीपको लिची बारी ।
पोखरा–१६ दीपको लिची बगैंचा बारीका रूपमा चिनिएको जग्गा हडप्ने उद्देश्यले भएको चलखेलका विषयका सन्दर्भ सामग्री प्रकाशन/ प्रशारणमा आएसँगै रोम-कम सरकारको भ्रष्टाचारको नविन शृङ्खला बाहिर जानकारीमा आएको हो । झण्डै १३४ रोपनी जग्गा हत्याउन स्थानीय तहदेखि केन्द्रसम्म भएका प्रपञ्चको नालीबेली यतिखेर चर्चाका विषय बनिरहेका छन् ।
पर्सा-३ बाट नेकपा एमालेबाट प्रतिनिसभामा निर्वाचित भएर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका राजकुमार गुप्ता जोडिएको घुस लेनदेनको सनसनीपूर्ण अडियो सार्वजनिक हुँदा पनि रोमकम सरकार र मन्त्रीसहितको बैठकसमेत मौन देखिन्छ ।
सार्वजनिक मञ्चहरूमा भ्रष्टाचार पटक्कै नरुचाउने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बोल्यो कि पोल्यो हुने डरले बैठकमा कुराकानीको विषय उठान नभएको देखिन्छ । तापनि उक्त जग्गा हडप्न मालपोत कार्यालय प्रमुखको सरुवा रोक्ने, भूमि आयोगको अध्यक्षमा आफू अनुकूलका पात्रलाई नियुक्त गर्ने विषयमा बार्गेनिङ भएका घटना उक्त अडियोमा खुलासा भएको देखिन्छ ।
सरकारले दिनप्रतिदिन जनताको विश्वास गुमाउँदै गए तापनि ‘चाचुचा’ चाकडी, चुक्ली र चाप्लुसिमा रमिरहेको रोमकम सरकार कसरी अगाडि बढ्छ हेर्न बाँकी नै छ ।
राज्यका त्रयशक्ति कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई दलको लगौटी लगाउन सफल वर्तमान रोमकम सरकारप्रति जनताको भरोसा र विश्वास छैन । तापनि घट्नाको अख्तियार अनुसन्धान दुरुपयोग आयोगले सत्यतासहित उजागर गर्ला भन्ने झिनो आशा जगाएर जनता बसेका छन् ।
विगतमा भएका विविध घटना सन्दर्भ र सरकारको नियतमै देखिएको बेथिति संरक्षणको शृङ्खलाले भोलिको नतिजा आजै आँकलन भइसकेको छ । गठन हुने छानविन गर्ने समिति, निर्णय दिने निकाय र त्यसको संरक्षक सरकार स्वयं रहेकाले मन्त्री निर्दोष र अडियो झुुटो सावित भएको तथ्य सार्वजनिक हुनेमा दुई मत नदेखिए पनि जनता न्यायको झिनो आशामा बस्न विवश छन् ।
सार्वजनिक भएको अडियोमा भएको संवाद यसप्रकार छ:
मन्त्री : फोन गर न उल्लाई ।
‘अँ फोन गरिरा’छु ।’
विचौलिया : ‘सर, त्यतातिर राखौं कुर्सी’ भनेको सुनिन्छ । ती व्यक्तिले ‘मन्त्रीज्यू, मैले फोन लगाइदिन्छु । र, तपाई राख्नु ।’
मन्त्री : राख्ने होइन, उल्लाई विहानै दिएर पठाउने ।
मन्त्री : राख्ने होइन, उल्लाई भोलि बिहानै दिएर पठाउने ।
(त्यसपछि फोन लगाएको र फोन गएको टोन सुनिन्छ । त्यसपछि फोन काटिन्छ । अनि कुर्सी लतारेको आवाज सुनिन्छ ।)
मन्त्री : ह्विस्की खाने ?
अडियो रेकर्ड गर्ने विचौलिया : नखाने के मन्त्रीज्यू, मैले कहिल्यै खाँदिन के ।
मन्त्री : कहिल्यै खानुहुन्न ?
(मन्त्रीको कुरा नसकिँदै उनलाई भेट्न गएका व्यक्तिले आफ्नो कुरा राख्छन् ।)
अडियो रेकर्ड गर्ने विचौलिया : सुन्नु न मन्त्रीज्यू, त्यो बलरामलाई भनौं न । बरु, त्यो २० म बुझाइदिउँला के खेमका लागि । भोलि फस्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।
(अडियो रेकर्ड गर्ने व्यक्ति विचौलियाले नाम लिएका बलराम भूमिसुधार तथा सहकारीमन्त्री बलराम अधिकारी हुन सक्ने । उनले मन्त्रीमार्फत अर्का मन्त्री बलरामलाई काम गराइदिन आग्रह गर्छन् । उनले खेम भनेर संकेत गरेका व्यक्ति पोखराका खेमबहादुर पुन हुन सक्ने । उनलाई भूमि आयोगको सदस्य बनाइदिन आग्रह गर्दै विचौलियाले मन्त्रीलाई २०–२० लाख) रुपैयाँ प्रस्ताव गरेका ।)
‘उसलाई बा’को पनि त प्रेसर होला…’
मन्त्री : बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।
विचौलिया : त्यो होइन क्या, आयोगको कुरा गरिरा’को छु के, तपाईसँग ।
मन्त्री : आयोग भन्नाले ?
विचौलिया : खेम पुनका लागि के । २० म बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।
(फोन बजेको आवाज सुनिन्छ ।)
मन्त्री : हेल्लो । अँ । अँ । फोनमा बात कि भाषण कर’रहा ?
(मन्त्रीले फोनमा अर्कै व्यक्तिसँग कुरा गरिरहेका बेला त्यो ठाँउमा अर्को महिलाको प्रवेश हुन्छ । उनले अडियो रेकर्ड गरिरहेका व्यक्तिसँग खासखुस कुरा गर्न थाल्छिन् ।)
महिला : मलाई टेन्सन छ ।
विचौलिया : तपाईं टेन्सन नलिनु त । भोलि समस्या हल भइहाल्छ ।
महिला : छोराको तिथिको बर्थ–डे छ, उसलाई मन्दिर लानु छ । तिथिमा भा’को होइन त, त्यो स्वस्थानी पूर्णिमाको ? त्यसपछि पशुपति जानु छ, त्यहाँबाट ममीकोमा सगुन लिन जानु छ । भोलि २९ गते अन्तिम दिन ।
विचौलिया : भोलि दिनको हुन्छ, शपथग्रहण अनि तपाईं चुप लागेर बस्नुस् त !
महिला : तपाईंकै अघि भनिरहेको छु त !
महिला : मन्त्रीज्यूले एकपटक भन्दिनुप¥यो के बलरामलाई, भनिस्यो ‘न !
विचौलिया :मेरो एउटा मान्छे पनि नबनाइदिने ?
मन्त्री : त्यो मान्दैन ।
विचौलिया : त्यो मान्दैन रे । (उनी बेसरी हास्छन् ।) तपाईंसँग सयवटा काम पर्छ त्यसको भनेको, तपाईंको एउटा काम नगर्दिएर हुन्छ । त्यसमाथि सबैले प्रेसर दिएको छ उसलाई । बाले समेत भने होलान् उस्तै परे भनेदेखि…. ।
(उनले बा’ भनेर कसलाई संकेत गरेका हुन्, स्पष्ट खुलेको छैन ।)
अहिले १५ छाड्छु, बाँकी १० भोलि बिहान
मन्त्री : यो त पोलिटिकल नियुक्ति हुँदै दिएको । जिल्लाबाट आउनुपर्छ, प्रदेशबाट आउनुपर्छ ।
विचौलिया : दाइ उसको त एकल सिफारिस भ छ के, मन्त्रीज्यू । निर्णय भा’छ प्रदेशबाट यसरी । यता हेर्नु ।
(संवाद गर्दै उनले केही कागजात देखाएका छन् ।)
प्रदेशले निर्णय गरेर पठाएछ नि यसरी । खेमबहादुर पुन भनेर यसरी एकल सिफारिस आएको छ ।
मन्त्री :कहाँबाट, जिल्लाबाट ?
विचौलिया : जिल्लाले प्रदेशलाई भने, प्रदेशले मन्त्रालयलाई पठाउने ।
मन्त्री :समस्या के छ त ?
विचौलिया : अरू–अरू मान्छे खेलिरा’छ नि त त्यहाँ । यहाँ ….. छुटिरा’छ नि त ।
(बोलेको केही शब्द बुझिँदैन )
महिला : मन्त्रीज्यूले भनेपछि मानिहाल्छ नि ।
मन्त्री : अब अहिले मन्त्रालयमा छ । यहाँ हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।
महिला : कसले भनेको मान्छ के उसले, मन्त्रीहरूले भनेको नमाने ।
मन्त्री : कहाँ छ कृषिमन्त्री ? भूमिसुधारमन्त्री … ।
(विचौलिया बेसरी हाँसेकाले बोलेको बुझिदैन ।
मन्त्री : उसलाई फोन गर्नुस्, भूमि आयोगको अध्यक्षका लागि, कास्की होइन ?
विचौलिया : कास्की, खेमबहादुर पुन ।
मन्त्री :कास्कीको जिल्ला कमिटीले सिफारिस गरेको छ ।
विचौलिया : प्रदेशले निर्णय गरेर पठाइदिएको छ ।
मन्त्री :प्रदेशले पनि गरेको छ भनेपछि त्यो पक्का हो । त्यही पनि शंका छ गडबड हुन्छ । कति छ, भोलिकै काम ।
विचौलिया : १ बजे शपथग्रहण छ ।
मन्त्री : (फोनमा कुरा गर्न थाल्छन्) अहिले निस्किनु न बाबा, गाडी आइरा’छ मन्त्रालयबाट । भेट हुन्छ, आउनु न म बोत्तल दिन्छु लिएर जानु, खुवाइदिनु, उहाँको ओके गराइदिनु । माल कति लिन्छ अहिले लिइदिने । त्यो नियमले मिल्ने रहेछ, जिल्ला कमिटीले सिफारिस ग¥या छ, प्रदेशले सिफारिस… ।
विचौलिया : जिल्लाले पाँचजनाको ग¥या छ क्या, प्रदेशले चाहिँ त्यहाँमध्ये छानेर एउटा मात्र पठाइदिएको छ ।
महिला : डिलकै गरौँ ? (उनले अडियो रेकर्ड गर्ने व्यक्तिसँग कुरा गरेकी हुन् ।)
विचौलिया : भन्नु न, डिल गरौँ भन्नु त । मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस् । मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको । (केही बेर रोकिएर) यसो हो … अदालतको भनेको… पर्सि उहाँले सामान्यबाटै गर्दिनुहुन्छ ।
महिला: मन्त्रीज्यूका हातमा दिऊँ ?
विचौलिया : मन्त्रीज्यूले एस र नो भन्दा आउँछ रे, उहाँहरूलाई केही आउँदैन ।
‘पोखराको जग्गाले हेरिरहेको छ’
विचौलिया : पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू । अनि हामी यहाँ यसरी हेरेर बसेर हुन्छ ?
मन्त्री : अनि १५ महिनामा के हेरिरा’छ त ?
विचौलिया :गरेछ त अलिअलि काम त । त्यत्तिकै पछुतो लागेन होला नि त मन्त्रीज्यू, लिएर आउनुस् त त्यो ।
मन्त्री : १५ महिना के गरिरा यिनीहरूले ?
विचौलिया १५ गरौँ, १५ गरिदिन्छ रे । (फेरि उनी निस्फिक्री हाँस्छन् ।)
विचौलिया (महिलासँग) : नकराउनु न तपाईं, …..भोलि गर्दिन्छ क्या … मलाई पोखरा २५ मै … ।
(उनीहरू अस्पष्ट रूपमा खासखुस गर्छन् ।)
विचौलिया : म्याडमले मलाई के भन्या छ थाहा छ ? घरै नआइज तँ अरे ।
मन्त्री : के खानुहुन्छ त ?
विचौलिया :केही नखाने हो मन्त्रीज्यू, तपाईंको त्यत्रो चिया खाएको देख्नुभएन ?
मन्त्री : माछा खानुहुन्छ ?
विचौलिया : माछा–मछली केही नखाने, अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।
(त्यसपछि अडियो रेकर्ड गर्ने व्यक्ति त्यहाँबाट निस्किएजस्तो सुनिन्छ । केहीबेरमा संक्षिप्त कुराकानी गरेपछि ९ मिनेट १३ सेकेण्ड लामो अडियो टुंगिन्छ ।)