युनाइटेड रेफरेन्स ल्याबोरेटरीद्धारा दमौलीमा निशुल्क शिविर
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गर्यो ।
शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीले मधुमेह र टिजी हुनुका कारण र यी समस्या भएपछि अपनाउनुपर्ने सावधानी र परिवर्तन गर्नुपर्ने जीवनशैलीबारे प्रकाश पारे ।
जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले अत्याधुनिक सेवासँगै बेला बेलामा निशुल्क शिविर आयोजना गरी युआरएलले सामाजिक दायित्व निर्वाह गरेको बताए । उनले राज्य र निजी क्षेत्र दुवै मिलेरमात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने उल्लेख गरे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले आफूहरुले यो क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाको नेतृत्व गरिरहेको बताए । उनले अहिलेसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले १ सय ५ शिविर गरिसकेको जानकारी दिए ।
युआरएलको वार्षिकोत्सव मंसिर २३ गते हुँदै छ । सोही समारोहमा युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गर्ने कार्यक्रम छ । यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।