FRIDAY APR 19, 2024

प्रचण्डको शौख अब जन्मथलोमा घर बनाउने

कम्युनिस्टका आदर्श माक्र्सको द्विशतबार्षिकीको दिन शनिबार कास्कीको ढिकुरपोखरी पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पारिवारिक घर बनाउने सोचमा दुई ठाउँ जग्गा हेरेका छन् ।

अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा उनी परिवारसहित पुगेका थिए । पत्नी सीता, छोरी गंगा दाहाल, ज्वाइँ जीवन आचार्यसहित पुगेका दाहालले हरिध्वज तुलाचनको जग्गा हेरेका छन् । छोरी गंगाले भनिन्, ‘औपचारिक कार्यक्रममा जाँदा जग्गा हेरौं न भन्ने कुरा आयो अनि हेरियो, तत्काल घर बनाउने योजना छैन ।’

उनका अनुसार लामो समयसम्म दाहाल जन्मथलो नपुगेका कारण पोखराको कार्यक्रम भ्याउँदै त्यहाँ जाने योजना बनेको थियो । गंगाले थपिन्, ‘आफ्नो जन्मथलोमा घर बनाउनुपर्छ भन्ने सुझाव आएपछि बुबा (पुष्पकमल दाहाल) ले पनि त्यस्तो इच्छा रहेको बताउनुभएको हो ।’

दाहालले माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला देखिनेगरी रहेको जग्गा हेरेका छन् । स्थानीयको स्वागतका क्रममा दाहालले आफ्नो जन्मथलोमा एउटा बस्ने ठाउँ होस् भन्ने चाहना रहेको बताएका थिए ।

उनले भने, ‘ढिकुरपोखरीसँग मेरो जन्म र भावनाको नाता छ तर यहाँ एक टुक्रा जग्गा पनि छैन, यहाँ घर बनाएर बस्ने मन छ ।’

उनले आफू बस्ने घर मात्र होइन, पोलिटेक्निक इन्स्टिच्युट, खानेपानीको उचित व्यवस्था पनि गर्ने आश्वासन दिएका छन् । उनले भने, ‘सरकारलाई र खानेपानीमन्त्री बिना मगरलाई यहाँको समस्या चाँडो सम्बोधन गर्नका लागि म घच्घचाउनेछु ।’

माओवादी शान्ति सम्झौतामा आएपछि दाहाल नयाँ बजार, लाजिम्पाट र खुमलटारमा डेरामा बस्दै आएका छन् । प्रशासन भए पनि विकासका सामान्य आधार ढिकुरपोखरीमा नहुनुको कारण दाहालले सुनेका थिए ।

उनले तत्काल विद्युत्को समस्या समाधानको पहल गरिदिन कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई निर्देशन दिए ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले ढिकुरपोखरी र अन्नपूर्ण गाउँपालिकाको समस्या दाहाललाई सुनाएका थिए । (राजधानी दैनिक)

Facebook Comments