MONDAY DEC 09, 2024

ओमनमा नेपाली युवतीमाथि ५ बंगालीले सामूहिक बलात्कार

ओमनको ‘पब्लिक प्रोसिक्युसन’ ले नेपाली युवतीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका ५ बंगाली अभियुक्तको बयान लिन सुरु गरेको छ । मस्कटस्थित नेपाली दूतावासका अनुसार ओमनी प्रहरीले अदालतमा मुद्दा दर्ताका लागि बयान लिन थालेको हो ।

‘आरोपित ५ बंगालीलाई प्रहरीले हिरासतमा लिइसकेको छ,’ दूतावासकी द्वितीय सचिव रोजिना ताम्राकारले कान्तिपुरसित भनिन्, ‘उनीहरूसँगको बयान जारी छ ।’

मस्कटबाट झन्डै ४० किमिमा रहेको मावेलस्थित वारदातको निर्माणाधीन भवनमा वैशाख १४ मा २९ वर्षीया नेपाली युवतीमाथि ५ बंगालीले सामूहिक बलात्कार गरेका थिए । ती युवतीलाई चिनजानमा रहेका बंगाली नागरिक आजादले काम लगाइदिन्छु भनी लिएर गएका थिए ।

पीडित युवतीका अनुसार ती निर्माणाधीन भवनमा लगेपछि ५ बंगाली आएर जबर्जस्ती गरेका हुन् । घटना सार्वजनिक हुने डरले उनीहरूले हत्या गर्ने योजना बनाएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हत्या योजना बनाएको थाहा भएपछि ती युवती भागेर शौचालयमा लुकेकी थिइन् । प्रहरीले वैशाख १५ गते राति २ बजे शौचालयबाट उनलाई उद्धार गरेको हो । प्रहरी मुख्यालयको समन्वयमा दूतावासकी द्वितीय सचिव ताम्राकार र श्रम सहचारी कृष्णाकुमारी गौलीले पीडितलाई साथमा लिएर गई वारदातबाट ५ जनालाई पक्राउ गरेको थियो ।

पीडितले आफूमाथि बलात्कार भएको भन्दै पीडकमाथि ओमनी कानुनअनुसार कारबाही गर्न निवेदन दिएको दूतावासले जनाएको छ । ‘पीडकलाई कारबाही हुनुपर्छ । मलाई यथाशीघ्र नेपाल पठाइदिनुपर्छ भन्ने पीडितको निवेदन छ,’ ताम्राकारले भनिन्, ‘पीडित आवश्यकताअनुसार दूतावास र प्रहरीको सेल्टरमा बस्दै आएकी छन् ।’

ती युवती २०७३ माघ ३ मा भारतको नयाँदिल्ली–यूएई हुँदै ओमन पुगेकी थिइन् । मस्कटस्थित एक ओमनी नागरिकको घरमा काम गर्दै आएकी उनलाई खाना नदिने, पिट्ने, तलब नदिने भएपछि गैरकानुनी हैसियतमा स्पोन्सर छाडेर बाहिर बस्दै आएकी थिइन् । कान्तिपुरमा खबर छ ।

Facebook Comments