WEDNESDAY JUN 24, 2026

मकालु एयरको जहाज हुम्लामा दुर्घटनाग्रस्त चालक दलका दुई सदस्यको मृत्यु

अाज विहानदेखि सम्पर्क विहिन भएको मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको  वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

जहाज  ३ टुक्रा भएको छ भने चालक दलका दुई सदस्यको मृत्यु भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। मृत्यु हुनेमा किरण भट्टराई र आदित्य नेपाली रहेका छन्। शवलाई माउण्टेन हेलिकप्टरले नेपालगञ्ज लगिएको डिएसपी रविन श्रेष्ठले जानकारी दिए।

नेपाली सेना र माउन्टेन हेलिकप्टरका दुई जहाज र नेपाल प्रहरीको सहयोगमा विमान खोजी गरिएको थियो। ‘नाइन एन एजेयु’ कलसाइन रहेको जहाज सामान लिएर सुर्खेतबाट हुम्ला प्रस्थान गरेको थियो।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको उक्त जहाज सम्पर्कविहिन भएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले दिएको जानकारीअनुसार सिमिकोट एयरपोर्टबाट ७.७ नटिकल माइल दक्षिणमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।

सुर्खेतबाट सिमिकोटका लागि बुधबार बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको थियो।

Facebook Comments