SUNDAY NOV 22, 2026

दोस्रो हेमजा साहित्य महोत्सव सम्पन्न

हेमजा साहित्य प्रतिष्ठानद्वारा आयोजित दुई दिवसीय दोस्रो हेमजा साहित्य महोत्सव आइतबार सम्पन्न भएको छ ।

महोत्सवको उद्घाटन नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य-सचिव रोशन शेरचनले गरेका थिए भने समापन समारोहको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।

उद्घाटन समारोहमा पोखरा महानगरपालिका प्रवक्ता एवं पोखरा २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, महोत्सव परिकल्पनाकार छन्दमणि, प्रतिष्ठानका अध्यक्ष सुनील गायक, महोत्सव संयोजक कृष्णप्रसाद पौडेल, मूल समारोहका महासचिव कोविदशरण उपाध्यायलगायतले बोलेका थिए ।

महोत्सव समुद्घाटन समारोह अघि मिलनचोकबाट प्रभातफेरी निकालिएको थियो । कार्यक्रमबीच भाषाशास्त्री मुकुन्दशरण उपाध्यायको अभिनन्दन ग्रन्थ तथा हिमशिखरको २७ औँ अंक लोकार्पण गरियो ।

महोत्सवको पहिलो दिन कविता र आख्यान, काव्यनगरी हेमजा, हेमजामा भजन, कलाकार ऋषि अधिकारी, विनोद बानियाँ, नीता आचार्य, रजनी रिदम, सुनिल गायकलगायतले प्रस्तुति राखे । महोत्सवको दोस्रो दिन आइतबार मढीमा काव्यनगरी सिर्जना दर्शन, कविता हुँदै आख्यान र गैर आख्यानसम्म मुक्तक, कविता, गजल, लघुकथा वाचन कार्यक्रम सम्पन्न भए ।

प्रतिष्ठान अध्यक्ष सुनील गायकको अध्यक्षतामा भएको कार्यक्रममा महोत्सव संयोजक कृष्णप्रसाद पौडेलले स्वागत गरेका थिए ।  महोत्सव महासचिव कोविदशरण उपाध्याय र उप-महासचिव छन्दिका त्रिपाठीले संयुक्तरूपमा सञ्चालन गरेका थिए ।

Facebook Comments