SUNDAY NOV 22, 2026

१२खरी कथा प्रतियोगिताको नतिजा सार्वजनिक

बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको आठौँ संस्करण ‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ को नतिजा सार्वजनिक गरेको छ ।

कथा प्रतियोगितामा चेतनाथ आचार्यको ‘भोटेकोशीको सुसाहट’ कथाले नगद राशि दुई लाख रुपैयाँसहित प्रथम पुरस्कार प्राप्त गरेका छन् । यस्तै,मधुर भट्टराईको ‘सपनाको अर्को रङ्ग’ कथाले एक लाख रुपैयाँसहित द्वितीय पुरस्कार प्राप्त गरेको छ भने सरस्वती सरसको ‘अस्तित्वको अल्गोरिदम’ ले ६० हजार रुपैयाँसहित तृतीय पुरस्कार प्राप्त गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा आठौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त एक हजार २२९ कथामध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘उत्कृष्ट कथा, २०८३’ लोकार्पण पनि गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले कथाकृतिको लोकार्पण  तथा बाह्रखरी उत्कृष्ट कथा, २०८३ का विजेतासहित उत्कृष्ट २५ कथाकारलाई पुरस्कृत गरे ।

उत्कृष्ट २५ कथाका कथाकारहरूमा वर्णानुक्रमानुसार अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, निर्मल ढुंगाना, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे रहेका थिए ।

प्रथम, द्वितीय र तृतीयबाहेक अरू २२ कथाकारलाई सम्मानस्वरूप नगद राशि जनही सात हजार रुपैयाँ प्रदान गरियो ।

उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा, २०८३’ पब्लिसिङ पार्टनर फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका हुन् ।

१२खरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा अग्रज कथाकार भुवन ढुङ्गाना संयोजक रहेकी थिइन् भने समालोचक साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक तथा चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य थिए । आन्तरिक मूल्यांकन समितिको संयोजन बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीले गरेका थिए ।

प्रतियोगितामा नेपालसहित भारतको दिल्ली, असम, दार्जिलिङ, मुम्बई, सिक्किम, डुवर्स, मेघालयका साथै चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्ड, साइप्रस, कुवेत, साउदी अरब, इजरायल, कम्बोडिया, इन्डोनेसियालगायत मुलुकमा बसोबास गर्ने नेपाली कथाकारले कथा पठाएका थिए ।

तस्वीर सौजन्य : १२ खरी

Facebook Comments