उदयले मनाए दुई कृति लोकार्पणसहित बुबाको ८४ औँ जन्मदिन
पत्रकारिता तथा सिर्जना क्षेत्रमा उदयका नामले सुपरिचित कृष्ण क्षेत्री उदयले दुई कृतिको लोकार्पणसहित बुबा सुवेदार देवीलाल क्षेत्री र आमा शुभकुमारी क्षेत्रीको ८४ औँ जन्मदिन मनाएका छन् ।
सञ्चारकर्मी तथा उत्प्रेरक व्यक्तित्व उदयका दुई कृति ‘जीवन सुदर्शन’ र ‘जिन्दगीका अदृश्य किरण’को बिहीवार एक समारोह बीच कार्यक्रमका प्रमुख अतिथि पुतलीबजार प्रज्ञा-प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, समालोचक असफल गौतम, उप-प्राध्यापक कल्याण पन्त, बाँगे-पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरु, कृतिकारका माता-पितालगायतले एकसाथ लोकार्पण गरे ।
प्रमुख अतिथि शाहले कलाभित्रका ६४ कलामध्ये जीवन जीउने कला सबैभन्दा महत्त्वपूर्ण भएको बताए । उनले बजारमा सबै कुरा किनेर पाइए पनि संस्कार परिवार र असल संगतबाट मात्र प्राप्त हुने बताउँदै क्षेत्रीलाई असल संस्कार एवम् सम्भावनाले युक्त प्रतिभाका रूपमा चिनाए ।
‘जीवन सुदर्शन’ कृतिको समीक्षा गर्दै उपप्राध्यापक कल्याण पन्तले पृथक विषयमा लेखिएको कृतिलाई बिरामी मनलाई आनन्दित तुल्याउने उपचार तथा औषधिका रूपमा चित्रण गरे ।
‘जिन्दगीका अदृश्य किरण’ कृतिको समीक्षा गर्दै समालोचक असफल गौतमले हाम्रा मिथक, पात्र, परिवेश र चिन्तनलाई केन्द्र बनाएर लेखिएको किताब उनको जीवनदर्शनको पाश्र्वचित्र रहेको धारणा राखे ।
स्रष्टा परिचय राख्दै बृहत् फेदीखोला–पोखरा सम्पर्क समाजका अध्यक्ष विजय पौडेलले कृष्ण क्षेत्री व्यक्ति नभएर सकारात्मक विचारको पर्याय भएको दाबी गरे ।
समाजसेवी चेतनादास शर्माले सुवेदार परिवारको पारिवारिक पृष्ठभूमिसमेत बताउँदै फेदीखोला गाउँपालिका-५, बाँगेफड्के, स्याङ्जामा जन्मेका उदयलाई सम्भावनायुक्त प्रतिभाका रुपमा चिनाए ।
समाजसेवी पुष्पराज बरालले क्षेत्री असल कर्मले जिन्दगीको ज्योति जगाइरहने बहुआयामिक समाजसेवी व्यक्तित्व रहेको बताए ।
स्रष्टा कृष्ण क्षेत्री उदयले हरेकले जिन्दगी सुखी भएर जिउन सकून् भन्ने चेतना जगाउन मनको चिन्तनलाई लिपिबद्ध गरेको बताए । कृति बुबा सुवेदार देवीलाल क्षेत्रीको ८४ औं जन्मदिनमै लोकार्पण गरेर बुबाको जन्मदिनलाई उत्सव बनाउनका असार ११ गते चयन गरेको जानकारी गराए ।
समारोहबीच सुवेदार क्षेत्रीको जन्मदिन विविध कार्यक्रमका साथ मनाएर उनको सुस्वास्थ्य, दीर्घजीवन र सुकीर्तिको कामनासमेत गरिएको कार्यक्रममा बाँगे–पोखरा सामुदायिक मिलन चौतारीका सचिव राजकुमार क्षेत्रीले उदय मनलाई चिनाउने मार्गदर्शक व्यक्तित्व रहेको धारणा राखे ।
बाँगे–पोखरा लामिछाने एकता समाजका सचिव लोकराज लामिछानेले आफ्ना क्षेत्रका ऊर्जाशील व्यक्तित्वका दुई कृति लोकार्पणको अवसर प्रदान गरेको भन्दै आभार व्यक्त गरे । बाँगे-पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष नरहरी पनेरुले पुस्तकबाट प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा लागू गर्न सके जीवन सुखी हुने धारणा राखे ।





