SUNDAY JUN 14, 2026

मायामा माया मुक्तक माथि पोखरामा विमर्श

नानीबाबा अधिकारीको मायामा माया मुक्तक कृतिमाथिको विमर्श पोखरामा सम्पन्न भएको छ ।

नेपाल स्रष्टा समाज गण्डकीको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तीर्थ श्रेष्ठले मुक्तक कविताको वैँसालु स्वरुप भएकाले यसमा शान्तिदेखि क्रान्तिसम्मका विषय अटाउने बताए । उनले मुक्तकको संरचनागत आयामबारे प्रकाश पार्दै सङक्षेपमा भन्न सक्ने सामथ्र्य लामो साधनाबाट मात्र प्राप्त हुने बताउँदै मुक्तक लेखन जटिल कार्य भएको धारणा व्यक्त गरे ।

वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइरालाले नानीबाबा अधिकारीका मुक्तकमाथिको पोखरा विमर्श आफँैमा गौरवको विषय रहेको बताइन् ।

जनकविकेशरी धर्मराज-सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले मुक्तक विमर्श कार्यक्रम स्वयम्मै मुक्तक जस्तो भएको धारणा राखे ।
पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाले सही संगतले सिर्जना परिस्कृत परिमार्जित हुने बताए ।

विधान आचार्यले नानीबाबाको मुक्तककारिताबारे चर्चाै गर्दै १२६४ मुक्तकबाट मायाका विषय केन्द्रित ४५० मुक्तकलाई समावेश गरिएको जानकारी गराए ।

विमर्शकर्ता असफल गौतमले नानीबाबुका मुक्तकलाई सामाजिक, सांस्कृतिक, राजनीतिक, प्राकृतिक, आर्थिक, आत्मिक, शृङ्गार र वियोगप्रेमका आधारमा चर्चा गर्दै अधिकारीलाई प्रतिभाशाली प्रतिभाका रूपमा चित्रण गरे ।

अर्की विमर्शकर्ता लक्ष्मी थापाले मायाको मुहान एउटै भए तापनि त्यसका अनेक रूपको अभिव्यक्त कला नानीबाबाको कल्पना शक्तिका माध्यमबाट कलात्मक रूपमा प्रकट भएको धारणा राखिन् ।

साहित्यकार सरस्वती श्रेष्ठ सरुले मुक्तक साधनामा लाग्दै आएका नानीबाबालाई पोखरामा भेट्न पाउनु सौभाग्यको विषय भएको बताइन् ।

कृतिका स्रष्टा नानीबाबा अधिकारीले माया विषयको मुक्तक लेखनलाई समर्पित, शङ्कास्पद, उपदेशात्मक, सामाजिक, प्रतिकारात्मक र पुरुषवाचक गरी छ आयाममा समेटेको बताउँदै मुक्तकसमेत वाचन गरिन् ।

समाजका प्रदेश अध्यक्ष रीता पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पद्मराज ढकालले गरेका थिए । कार्यक्रममा साहित्यकार शिव त्रिपाठीले उनका मुक्तक वाचनसमेत गरेका थिए ।

Facebook Comments