नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु पहाडीको क्रमशः सम्बन्धहरू उपन्यास लोकार्पण
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु भएको छ । शनिबारदेखि अमेरिकाको कोलोराडोमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।
सम्मेलनको संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्मा र मदन पुरस्कार विजेता साहित्यकार डा.नवराज लम्सालले संयुुक्त रूपमा उद्घाटन गरे ।
दर्जन बढी महत्त्वपूर्ण सेसनमा छलफल र विमर्शसहित सोमवारसम्म चल्ने सम्मेलनमा नेपाल, अमेरिका, युरोपलगायतका देशबाट १२५ जना साहित्यकार सहभागी छन् ।
अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका छन् ।
कार्यक्रममा वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, मदन पुरस्कार विजेता साहित्यकार नीलम कार्की निहारिका, ख्यातिप्राप्त अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, संस्थाका पूर्व अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडी, राजेन्द्र के.सी., ऋषभदेव घिमिरे सहभागी रहेका छन् ।
साहित्यकारका साथसाथै यस पटकको सम्मेलनमा राष्ट्रियस्तरमा ख्याति कमाएका चर्चित पत्रकार, प्रस्तोता तथा लेखकसमेतको सहभागिता रहेको छ । जसमा पत्रकारहरू सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, सुरज भण्डारी, टीकाराम यात्री, महेश पौड्याललगायत सहभागी छन् ।
सोही समारोहबीच अनेसास नेपाल च्याप्टर पूर्वअध्यक्ष सन्ध्या पहाडीको उपन्यास क्रमशः सम्बन्धहरूको लोकार्पणसमेत गरिएको छ ।

