TUESDAY MAY 19, 2026

४११ जनाले पाए निःशुल्क आँखा परीक्षण सेवा, २१ जनामा मोतियाबिन्दु पहिचान

पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट ४११ जना लाभान्वित भएका छन्। दर्शन फाउण्डेशन, पोखराको आयोजनामा सम्पन्न उक्त शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको थियो।

शिविरमा सहभागीमध्ये २१ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र उनीहरूलाई थप उपचार तथा शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ। शिविरमा निःशुल्क आँखा परीक्षण, विशेषज्ञ परामर्श, औषधि वितरण तथा चश्मा वितरण सेवा प्रदान गरिएको थियो।

ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूले शिविरबाट विशेष लाभ लिएको बताइएको छ। स्थानीयवासीले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका थिए।

दर्शन फाउण्डेशनका अध्यक्ष पितम बहादुर सेनले सामाजिक सेवामार्फत समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य शिविरले नागरिकलाई प्रत्यक्ष राहत पुगेको उल्लेख गर्दै सामाजिक संघसंस्थाले स्वास्थ्य, शिक्षा तथा जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले दर्शन फाउण्डेशन तथा सहयोगी संस्थाहरूको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उक्त शिविरमा हिमालय आँखा अस्पताल, घारीपाटन पोखराले प्राविधिक सहयोग गरेको थियो भने जलजला गाउँपालिका वडा नं. ३ र मल्लाज स्वास्थ्य चौकीले समन्वय तथा सहयोग गरेका थिए।

कार्यक्रममा वडा अध्यक्ष एकिन्द्र खत्री, नेत्र अधिकृत दिनेश बानियाँ, स्वास्थ्य चौकी प्रमुख पवित्रा रेग्मी, दर्शन फाउण्डेशनका सचिव मदन मल्ल तथा कार्यक्रम संयोजक याम बहादुर जिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

तस्विरः विजेन्द्र मल्ल/नौलोेखबर डटकम

Facebook Comments