SUNDAY MAY 10, 2026

एसईईको नतिजा मंगलवारसम्म सार्वजनिक हुने

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा मंगलवारसम्म सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण प्राविधिक र प्रशासनिक तयारी पूरा भएको जनाएको छ । बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीले कुनै प्राविधिक समस्या नआए अबको दुई दिनभित्रै नतिजा सार्वजनिक गरिने जानकारी दिइन् ।

गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ बोर्डले काम गरिरहेको छ । यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका कुल ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

यस वर्षको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जना, ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना रहेका छन् ।  जसमा छात्र २ लाख ५४ हजार ८ सय १ जना, छात्रा २ लाख ५७ हजार ६ सय १३ जना र अन्य ७ जना रहेका छन् । यस वर्षको परीक्षामा जापानसहित १९६६ केन्द्रबाट ५ लाख १२ हजार विद्यार्थी सहभागी थिए । जापानको एक परीक्षा केन्द्रबाट २३ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

विगतका वर्षहरूमा उत्तरपुस्तिका अन्यत्र पठाइने गरिए पनि यस वर्ष जुन केन्द्रमा परीक्षा दिइएको थियो, सोही क्षेत्रमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नतिजा सार्वजनिकसँगै नतिजा हेर्न सकिने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको छ।

कार्यालयले सूचना जारी गर्दै नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको हो।

परीक्षार्थीहरूले मोबाइलबाट एसएमएस पठाएर वा फोनमार्फत पनि आफ्नो नतिजा हेर्न सक्नेछन्। नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, यूएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। त्यसैगरी, जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यसैगरी, विस्तृत नतिजा तथा मार्कसिट इन्टरनेटमार्फत हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटहरूलाई अनुमति दिइएको बोर्डले जनाएको छ। आधिकारिक सरकारी वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट नतिजा हेर्न सकिनेछ। साथै नेपाल टेलिकम, कान्तिपुर, इडियु सञ्जाल, खल्ती लगायतका प्लेटफर्ममार्फत पनि नतिजा उपलब्ध गराइनेछ।

Facebook Comments