१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा यस वर्ष थपियो ‘स्पेशल अवार्ड’
१० औं रारा पोखरा स्पोर्टस् अवार्डमा ‘स्पेशल अवार्ड’ थपिएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख ३१ मा हुने अवार्डमा नेलम्बो नेपालले स्पेशल अवार्ड प्रायोजन गर्ने भएको हो । मञ्च अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
१० औं स्पोर्टस् अवार्डमा स्पेशल अवार्डसहित नौ अवार्ड प्रदान गरिने छ । यसअघि मञ्चले लाइफटाइम एचिभमेन्ट अवार्ड, पिपल च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघसंस्था र उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गर्दै आएको थियो ।
सामुदायिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था नेपाल (नेलम्बो नेपाल) ले ‘स्वास्थ्य र समृद्धिका लागि खेलकुद’ नाराका साथ मञ्चले सञ्चालन गर्दै आएको अवार्डमा स्पेशल अवार्डसहित सहकार्य गर्न पाउँदा गौरवान्वित भएको जनाएको छ ।
स्पेशल अवार्डका साथै नेलम्बो नेपालले अवार्ड वितरण समारोहस्थल पोखरा इभेन्ट सेन्टरमा नाक, कान र दाँतसम्बन्धी स्वास्थ्य सचेतनामूलक शिविरसमेत सञ्चालन गर्ने अध्यक्ष देवकोटाले जानकारी दिए ।
अवार्डमा हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको टाइटल प्रायोजन, पिपल च्वाइस अवार्डमा गुरुङ गहनाघरले स्कुटर प्रायोजन र उदीयमान खेलाडीमा सहारा क्लब पोखराले प्रायोजन गरेका छन्।
