दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न
पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ भएको छ ।
पोखरा वडा नं. १३ को आयोजनामा वडा परिसरमा आयोजित साहित्य पर्वको लेखक तथा पत्रकार नारायण वाग्लेले उद्घाटन गरे । उनले साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकालय रहेको बताउँदै पुस्तकालय पुग्दा आफ्नै घर पुगे जस्तो अनुभूति हुने सुनाए ।
कार्यक्रममा अग्रज कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ ले यस्ता कार्यक्रमले साहित्यमार्फत् समाजमा सकारात्मक परिवर्तन ल्याउने, सिर्जनशीलता अभिवृद्धि गर्ने र स्थानीय प्रतिभालाई पहिचान तथा प्रोत्साहन गर्ने बताए । अली मियाँको जन्मथलो मियाँपाटनमा भएको साहित्यिक कार्यक्रमले साहित्य, कला र सांस्कृतिक विविधता प्रस्तुत गरेको उनको भनाइ थियो ।
कार्यक्रमको पहिलो सत्रमा ‘बितेका पाइला र आउने बाटा : पोखराका युगपुरुषहरूको पदचापमा’ शीर्षकमा पत्रकार शोभाकान्त सिग्देलले पत्रकार पुण्य पौडेलसँग भलाकुसारी गरे । जहाँ पोखरा १३ लोककवि अली मियाँ, जगन्नाथ सिग्देल, टेकबहादुर ढेवाजुको स्मरण र आउने युवाले दिनसक्ने योगदान बारे चर्चा गरिएको थियो ।
दोस्रो सत्रमा ‘अक्षरदेखि अल्गोरिदमसम्म : हाम्रो अबको शिक्षा र बदलिदो समाजको स्वरूप’ विषयमा भौतिकशास्त्री डा. कपिल अधिकारीसँग डा. रामचन्द्र बराल गफिए । उक्त सत्रमा डा. अधिकारीले सामाजिक सञ्जालको एल्गोरिदमले मानिसको आनीबानीलाई जिन्सी सामान जस्तो बनाइदिएको बताए । उनले सामाजिक सञ्जालले मानिसले गर्ने दैनिकीलाई डाटामा परिवर्तन गरेर त्यसलाई सित्तैमा लिएर एल्गोरिदमले काम गरिरहेको उनले सुनाए ।
अर्को सत्रमा पत्रकार अनिशा श्रेष्ठले व्यावसायी नारायण पौडेल र समेसराज भण्डारीसँग उद्यमी र नवउद्यमीका विषयमा कुराकानी गरिन् । यो सत्रमा नेपालमै रोजगारीको सम्भावनाको खोजीका विषय उठान भएका थिए । जसका लागि सरकारले सही नीति बनाउनुपर्नेमा जोड दिइएको थियो ।
चौथो सत्रमा मा ‘साहित्यमा नारीको प्रतिनिधित्व’ सेसनमा सहजकर्ता हसिना बस्नेतसँग साहित्यकार सरस्वती प्रतिक्षाले भलाकुसारी गरेकी थिइन् । साहित्य क्षेत्रमा महिलाको उपस्थितिसँगै चर्चा र चुनौतीका विषयमा छलफल गरिएको थियो ।
साहित्य पर्वको अन्तिम सत्रमा पत्रकार अमृत सुवेदी र गायक विनोद श्रेष्ठले संगीतका विषयमा कुरा गरेका थिए । कन्दरा ब्यान्ड र पोखराको संगीतबारेमा गफिएपछि कार्यक्रम सकिएको संयोजक राजेन्द्र भण्डारीले जानकारी दिए ।
वडाध्यक्ष किरण बरालले विकास निर्माण र वडावासीको गुनासो सम्बोधनबाट थोरै समय बचाएर दोस्रोपटक साहित्य पर्व गरिएको बताए । यसलाई समयानुसार परिमार्जन गर्दै लगिने प्रतिबद्धता उनले जनाए ।
कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै वडा सदस्य रजनी परियारले वडाले भाषा, साहित्य, कलालाई पनि विकासको एउटा माटो मान्दै साहित्यको कार्यक्रम आयोजना गरिएको बताइन् ।
कार्यक्रमा स्थानीय साहित्यकार, कलाकार तथा चित्रकार को उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ धर्मराज अल्पायु, चन्द्रावती वाग्ले, कुशल गौतमले रचनावाचन गरेका थिए । गायिका हरिदेवी कोइरालाले अली मियाँले संकलन गरेको ‘आकाशमा बादलु डम्मै छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा कलाकार जीत गुरुङ र कृपा श्रेष्ठको चित्र प्रदर्शनी, भद्रकाली माविका विद्यार्थी र नवदुर्गा टोल विकास संस्थाको आमा समूहको नृत्य पनि रहेका थिए ।
