स्याङ्जामा सारङ्गी जोगाउँदै नयाँ पुस्ता
स्याङ्जामा नेपाली मौलिक बाजा सारङ्गी सिकाउने अभियान सुरु गरिएको छ ।
गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिका–१३ लामपाटामा १० दिने सारङ्गी बजाउने सीप सिकाइरहेका छन् । नयाँ शैक्षिक सत्र सुरु नभएकाले घरमै रहेका २० जना छात्रछात्रालाई सारङ्गी बजाउन सिकाइएको हो ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण आवश्यक रहेकाले यसको संरक्षणमा यो कार्यक्रम आयोजना गरिएको बताए ।
प्रशिक्षक सूर्यमान गन्धर्वले सारङ्गी सिकाउनु केबल बाजा बजाउन सिकाउनु मात्र नभई संस्कृति, पहिचान र मूल्य जोगाउने अभियान भएको बताउँदै सिकेको सीपलाई निरन्तरता दिन बालबालिकालाई आग्रह गरे ।
पुतलीबजार नगरपालिका वडा नम्बर १३ का अध्यक्ष जुद्धबहादुर थापाले ज्येष्ठ नागरिक र बालबालिकाबीच सीप आदानप्रदान हुँदा आपसी सम्मान, समझदारी र सामाजिक सद्भाव बलियो बन्ने बताए ।
