WEDNESDAY APR 29, 2026

शिक्षासेवी पौडेललाई मातृशोक

शिक्षा, समाजसेवा र साहित्यका त्रिवेणी अग्रज साहित्यकार कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ ।
उनकी ममतामयी माता राधिका पौडेलको ८८ वर्षको उमेरमा मंगलवार पोखरा-२५ हेमजास्थित आफ्नै निवासमा निधन भएको हो । उनका एक छोरा कृष्णप्रसाद पौडेल, तीन छोरी, ११ जना नातिनातिनी रहेका छन् ।

मुकुन्दशरण वाङ्मय परिषद्का अध्यक्ष, जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र लेखनाथ साहित्य प्रतिष्ठानका सचिव पौडेल हेमजा साहित्य प्रतिष्ठान नेपालका संस्थापक, नेपाली विभाग पृथ्वीनारायण क्याम्पसका पूर्व विभागीय प्रमुख, गौरीशंकर बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुखसमेत रहेका उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल रेडक्रस सोसाइटीलगायतका विभिन्न संघसंस्थामा संलग्न छन् ।

यसैबीच जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले राधिका पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक विज्ञप्तिमार्फत समाजका सचिव पौडेलकी ममतामयी माताको निधनले समाजलाई अभिभावकविहिन तुल्याएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, शोकको यस दुःखद घडीमा दिवंगत राधिका पौडेलको मोक्ष प्राप्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

Facebook Comments